समुदाय–प्रहरी साझेदारीअन्तर्गत ७५१ तहसँग सम्झौता

समुदाय–प्रहरी साझेदारीअन्तर्गत ७५१ तहसँग सम्झौता


नेपाल प्रहरीले अवलम्बन गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत अहिलेसम्म ७५१ स्थानीय तहसँग सम्झौता भएको छ । सम्झौता भएकामध्ये ७४० स्थानीय तहमा पालिका समितिसमेत गठन भइसकेको छ ।

समाजमा हुने अपराध नियन्त्रण तथा रोकथाम गरी शान्ति सुरक्षा कायम गर्ने मूलभूत उद्देश्यले स्थानीय तहसँग समझदारी कायम गरी साझा संयन्त्रको माध्यमद्वारा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न सम्झौता गरिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए ।

पाँच महिनाअघि नेपाल प्रहरीले थालेको उक्त अभियानअन्तर्गत सात प्रदेशमा १६ हजारभन्दा बढी समिति निर्माण भएको सुवेदीले जानकारी दिए । ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ नाराका साथ गत कात्तिक ११ गतेदेखि शुरु भएको सो कार्यक्रमअन्तर्गत ७७ जिल्ला समिति, ७४० पालिका समिति, पाँच हजार २९३ वडा समिति, चार हजार ८८८ टोल समिति र पाँच हजार ८७४ विद्यालय सम्पर्क समिति गठन गरिएको छ ।

नागरिक समाज, स्थानीय सरकार, विभिन्न संघसंस्था, विद्यालयसमेतको सहभागितामा कार्यक्रम थालिएको छ । यसको मूल लक्ष्य सामाजिक न्याय, राष्ट्रिय सुरक्षा, आपसी मेलमिलाप, सामुदायिक शिक्षा र जनचेतना जगाउने रहेको छ । समुदायसँगको साझेदारीबाट मात्रै दिगो शान्ति सम्भव हुने हुँदा समुदायका अन्य निकायसँग साझेदारीको आवश्यकतालाई महसुस गर्दै प्रहरीले उक्त अवधारणा ल्याएको थियो ।

प्रहरीका अनुसार प्रदेश १ मा एक हजार २७६, प्रदेश २ मा दुई हजार २४८, प्रदेश ३ मा दुई हजार ८३, प्रदेश ४ मा एक हजार ७४२ प्रदेश ५ मा तीन हजार १६९, कर्णली प्रदेशमा दुई हजार ३८८ र सुदूरपश्चिम प्रदेशमा दुई हजार १९५ वटा समिति गठन भएका छन् ।

कार्यक्रम सञ्चालनका लागि १० हजारभन्दा बढी प्रहरी कर्मचारीलाई प्रशिक्षण गराएर स्थानीय तहमा खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।