सिड्नीमा भेटिँदै श्रृङ्खला

सिड्नीमा भेटिँदै श्रृङ्खला


  • राजन घिमिरे, अष्ट्रेलिया

नेपालको प्रतिनिधित्व गर्दै विश्वसुन्दरी प्रतियोगितामा भाग लिन पुग्ने नेपाल सुन्दरीमध्ये श्रृङ्खला खतिवडा आजसम्मकै सबैभन्दा चर्चित र नोटिस गरिएकी नेपाल सुन्दरी हुन । बाबु–आमा नेपाली राजनीतिको स्थापित नाम भएका कारण पनि राजनीतिक क्षेत्रमा समेत उनको चर्चा चुलियो । विश्व सुन्दरीको ताज पहिरिन नसके पनि उनले १२औँ स्थान ओगेटेर चौतर्फी प्रशंसा र वाहवाही भने हासिल गरिन् ।

नेपाल होस् कि प्रवासमा, उनको चर्चा र ख्यातिमा गिराओट आएको छैन । संयमित र तार्किक कुरा अनि निडर प्रस्तुति नै श्रृङ्खलालाई सबैको प्रिय बनाउने कडी सावित भयो । यिनै नेपाल सुन्दरी पहिलोपटक अष्ट्रेलियाको सिड्नीमा रहेका नेपालीमाझ प्रस्तुत हुने भएकी छिन् । ओयसिस एजुकेशन र युनाइटेड नेप्लिज आर्टस् एण्ड इन्टरटेनमेण्ट (यूएनई)ले आयोजना गर्न लागेको च्यारिटी कार्यक्रममा सहभागी हुन उनी सिड्नी आउन लागेकी हुन् । मिस नेपाल श्रृंखला खतिवडा ओएसिस एजुकेशनकी ब्राण्ड एम्बेस्डर हुन् ।

‘यो विशुद्ध सामाजिक कार्यका लागि समर्पित कार्यक्रम हो । वैदेशिक रोजगारीको क्रममा निधन भएका वा जेल परेर अलपत्र परेका प्रवासी नेपालीहरूका सन्तानको शिक्षाका लागि सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको हो’– यूएनईकी प्रमुख भूमा लिम्बुले जानकारी दिइन् । यस्तो मनकारी कार्यक्रममा सहभागिताका लागि लिम्बुले सबैलाई आग्रह समेत गरेकी छिन् । कार्यक्रमको आयोजनाका लागि प्रवासी नेपाली समन्वय समिती नेपाल र यूनाइटेड नेप्लिज आर्टस् एण्ड इन्टरटेनमेण्ट अष्ट्रेलियाबीच सम्झौता सम्पन्न भैसकेपछि यस्तो कार्यक्रमको आयोजना गरिने योजनाको तय भएको थियो ।

कार्यक्रम अप्रिल १२ शुक्रबारका दिन सिड्नीको रगडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा हुने छ । च्यारिटी डिनर कार्यक्रममा श्रृङ्खलाले आफ्ना अनुभव र भावी योजनाका बारेमा जानकारी दिनेछिन् भने उनिसँग दोहोरो सम्वाद गरिने कार्यक्रम पनि रहेको छ । कार्यक्रममा मनोरन्जनात्मक प्रस्तुतिहरू पनि रहने बताइएको छ ।