सरकारका सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने ‘विप्लव’ को योजना

सरकारका सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने ‘विप्लव’ को योजना


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुुकमा आतङ्क मच्चाएर हिँड्ने विप्लवलाई जेल हालेर भए पनि मूलधारमा ल्याएरै छाड्ने बताएका छन् । उनले चैत्रभित्रै विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन आग्रह समेत गरे । यदि वार्तामा नआएमा पूरै नियन्त्रण गर्ने र सरकार झन कठोर रुपमा प्रस्तुत हुने प्रधानमन्त्रीले चेतावनी दिदै आएका छन् ।

प्रधानमन्त्री ओलीले यस्तो चेतावनी दिइरहँदा सरकारले चैत महिनाभित्र आफूहरुमाथि लगाएको प्रतिबन्ध हटाउन अल्टिमेटम समेत दिएको छ । सरकार यसमा लचक नभए सरकारका सबै कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले दिएको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै चरणबद्ध आन्दोलनको घोेषणा गरेको जनाएका छन् । पार्टीका मध्य क्षेत्र कमाण्डर हेमन्त प्रकाश ओलीसहितका आफ्ना नेता तथा कार्यकर्ता पक्राउ गरेको भन्दै विप्लव समूह सरकारविरुद्ध आक्रामक बन्न खोजेको बुझिएको छ । उनीहरुको रिहाइ र पार्टीमाथिको प्रतिबन्ध यही चैत्रभित्रै नहटाए चरणबद्ध अन्दोलन गर्ने घोषणा गरेको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार बुधबार मुलुकभरका चोक–चोकमा जुलुस निकाल्ने, बिहीबार कोणसभा गर्ने, शुक्रबार मसाल जुलस निकाल्ने र शनिबार पूरै नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको छ ।

यस्तै, चैत १९ गते देशभर अन्तरक्रिया कार्यक्रम गर्ने, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन गर्ने र २३ गते कालो झण्डा प्रदर्शन गर्ने तथा २४ गते मुलुकभरि जनप्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यता, सरकारले पनि विप्लवमाथि प्रतिबन्ध गरेर त्यस समूहका नेता तथा कार्यकर्ता जहाँ भेट्यो त्यही पक्राउ गर्न र गोली समेत हान्न आदेश दिएको छ । केही दिनअघि विप्लवका मध्य कमाण्ड हेमन्तप्रकाश ओलीसहित नौँ जनालाई काभ्रेबाट पक्राउ भइसकेका छन् ।