सरकार ‘सख्त’ बनेपछि विप्लव आक्रोशित !

सरकार ‘सख्त’ बनेपछि विप्लव आक्रोशित !


सरकारले हतियार बुझाएर आत्मसमर्पण गर्न चैत मसान्तको समयसीमा दिएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आक्रोशित बनेको छ । देशभरबाट गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताको रिहाईको माग गर्दै सो पार्टीले चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेपछि यस्तो महसुस गरिएको हो ।

सरकारद्वारा प्रतिबन्ध लगाइएको सो पार्टीका महासचिव विप्लवले सोमबार राती प्रेस विज्ञप्ति जारी गर्दै नेकपा स्थायी समिति सदस्य हेमन्तप्रकाश वली सुदर्शनसहित देशभरबाट गिरफ्तार गरिएका नेता कार्यकर्ताको तत्काल रिहाईको माग गरेका छन् ।

ओली सरकारले देशमा सबै पार्टी, नागरिक समाज र अगुवाहरुको विरोधका बाबजुद घोषणा गरेको प्रतिबन्धका विरुद्ध पनि आफुहरुले बाध्य भएर नेपालबन्दको घोषणा गर्नु परेको सो विज्ञप्तिमा विप्लवले उल्लेख गरेका छन् ।

विज्ञप्तिमा विप्लवले भनेका छन्- ‘केपी सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर वस्तुतः देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको छ । हाम्रा पार्टीका स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज कमरेड सुदर्शन, पीबीएम कमरेड जीवन्त, केन्द्रीय सदस्यहरू कमरेड प्रज्वलन, कमरेड बन्धुलगायत दर्जनौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ भने देशव्यापी अप्रेसन सञ्चालन गरिरहेको छ । केपी वली सरकारको यो फासिवादी, निरङ्कुश, दमनकारी, आपराधिक दमनका विरुद्ध र कमरेड सुदर्शनलगायत नेताहरूको रिहाइका निम्ति स्थायी समितिको निर्णयअनुसार यही चैत १६ गते शनिबार देशव्यापी आमहड्तालसहित नेपाल बन्दको आह्वान गर्दछौँ ।’

नेपाल बन्द आफूहरुको चाहना नभई सरकारी दमनका विरुद्ध बाध्यता भएको भन्दै विप्लवले यो बन्दले कक्षा १० का विद्यार्थीहरूको एसईई परीक्षालाई बाधा नपारोस् भन्नका लागि शनिबारको दिन आयोजना गरिएको प्रष्ट्याएका छन् ।

केपी ओली सरकारले देशभित्र द्वन्द्व लादेर विदेशी लगानी भित्र्याउने हावादारी प्रचार गरिरहेको आरोप लगाइएको उक्त वक्तव्यवमा विदेशी लगानीकर्ताहरूको पैसामा दलाली गर्ने र जनतामाथि लूट थोपर्ने नाटक मात्र भएको गम्भीर आरोपसमेत लगाइएको छ । तथापि आफ्नो पार्टीले आह्वान गरेको बन्द आन्तरिक विषय र दमनकारी सरकारको प्रतिरोध मात्र भएको भन्दै १६ गतेको बन्दप्रति कुनै पनि अन्तर्राष्ट्रिय समुदायलाई भ्रमित र तरङ्गित नहुन पनि विप्लवले आग्रह गरेका छन् ।