मौसम पूर्वानुमान : ‘तीन दिन कतै बदली, कतै वर्षा र कतै हिमपात’

मौसम पूर्वानुमान : ‘तीन दिन कतै बदली, कतै वर्षा र कतै हिमपात’


पश्चिमी वायुको प्रभावले सोमबार मौसम बदलीसँगै काठमाडौं उपत्यकासहित देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहानबाट नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी भेगका केही स्थान र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।

उनका अनुसार दिउँसो पश्चिमी क्षेत्रमा यसको प्रभाव देखिन्छ र बेलुकी पखबाट मध्य र पूर्वी भूभागको मौसम पनि क्रमशः प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रि–मनसुनको समय भएकाले वर्षा लामो समयसम्म नहुने र छिनमै मौसम परिवर्तन हुने बताइएको छ । राति देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि मंगलबार देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भूभागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै बुधबार देशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही उच्च पहाडी भेगका केही स्थानमा र हिमाली भेगका एक दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव शून्य डिग्री सेल्सियस र अधिकमत तापक्रम २७ दशमलव ८ सेल्सियस रहेको छ । त्यस्तै, सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।