नेताका माला !

नेताका माला !


  • अर्जुनराज पन्त

यमपञ्चक गइसक्यो छैन कुकुरतिहार
ठाउँ न कुठाउँ माला लगाई मन्त्रीज्यूको सवार

क्रियापुत्री भेट्दा समेत लायौ तिम्ले माला
जहाँ जाँदा नि लाउनैपर्ने अचम्मैको चाला

चाकडी र चाप्लुसीले शुन्य विवेक आज
यस्ता ठाँउमा माला लाउन छैन तिम्लाई लाज

जनवादी क्रिया होकि कस्ता ठाँउमा गयौ
गलाभरि माला लगाइ कार्टुन नै पो भयौ

पूजाआजा खुशियाली कि त कठै लाशमा
अप्रासङ्गीक माला देखेँ आज जिउँदा सासमा

तिम्ले लाको माला देखी भाको होइन रिस
कूपात्रमा पर्दाखेरि अमृत पनि विष

रहर हो कि प्रतिष्ठा हो अचम्मै पो भा’छ
फूलैफूलले नेता पुर्ने नौलो चलन आ’छ

तिमी मात्रै हैनौ यस्तो सबका यस्तै चाला
विदेशबाट फूल झिकाइ नेता ज्यूलाई माला

त्यही फूलको माला लागाइ ‘स्वावलम्बी भाषण’
फूलैफूलको चिता हो कि नेता ज्यूको आसन !

थेग्दारैछन् हनुमानले दुइटा छेउमा बसी
गर्ध–सर्धन भाँचिएला चिप्प्लिएर खसी

हातै गली चिप्लिएर माला तल खस्दा
ज्यानको डर त मान गाँठे धराप मुनि बस्दा

शिशुपाली गर्धनमाथि दुई क्वीन्टलको माला
त्यही मालाले च्यापिएर तिम्रो परान जाला ।