विश्वभर एकसाथ सामूहिक भावातीत ध्यान गरिँदै

विश्वभर एकसाथ सामूहिक भावातीत ध्यान गरिँदै


सामूहिक चेतना अभिवृद्धिका लागि आइतबार बेलुकी एकै समय विश्वभर सामूहिक भावातीत ध्यान गरिने भएको छ । वैदिककालमा गुरु–चेला परम्पराबाट चल्दै आएको यो ध्यान ओझेलमा परेकामा आधुनिक कालमा महर्षि महेश योगीले विश्वभर पुनर्जागरण गरेका थिए । भावातीत ध्यान आइतबार बेलुकी ५ बजेदेखि महर्षि अभियान लागू भएका १९२ देशका ध्यान केन्द्रमा एकसाथ प्रारम्भ गरिनेछ ।

विश्व शान्तिका लागि विश्वभर एकसाथ ध्यान र सिद्धि कार्यक्रम आयोजना गरिएको नेपाल महर्षि वैदिक फाउन्डेशनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले जानकारी दिए ।

विश्वका करि एक करोड भावातीत ध्यानीले बिहान–बेलुका आफ्नो अनुकूलअनुसार दुईपटक ध्यान गर्ने गरेकामा सामूहिक चेतना अभिवृद्धिका लागि बेलाबेलामा एकसाथ ध्यान र सिद्धि कार्यक्रम गरिन्छ । नेपालका ८२ गुरुकुल, एक दर्जन विद्यालय र पाँच ध्यान केन्द्रमा बेलुकी ५ बजेदेखि ध्यान, ५ बजेर २० मिनेटदेखि सिद्धि सूत्र अभ्यास गरिँदै आएको फाउन्डेसनले जनाएको छ ।

भावातीत ध्यान सिकेका साधकले नजिकको ध्यान केन्द्र वा घरमै बसेर पनि ध्यान गरी सामूहिक चेतना वृद्धि अभियानमा सहभागी हुनसक्ने अध्यक्ष बाँस्कोटाले बताए । वैदिक ज्ञान विश्वव्यापी जागरणका लागि नेपालले नेतृत्व गर्न सक्छ भन्ने अभिव्यक्ति महर्षि योगीले दिएकाले उनका अनुयायीले हाल नेपालमा यो कार्यक्रमलाई विस्तार गर्न थालेका छन् । महर्षि योगीले ज्योर्तिमठका शंकराचार्य ब्रह्मानन्द सरस्वतीबाट उक्त ध्यान सिकी विश्वभर प्रचार गरेका हुन् ।