महोत्तरीमा दुई किशोरीद्वारा आत्महत्या

महोत्तरीमा दुई किशोरीद्वारा आत्महत्या


महोत्तरीमा शनिबार दुई किशोरीले झुन्डिएर आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार जिल्लाको सम्सी गाउँपालिका–४ सलेवर यादवकी छोरी १३ वर्षीया सांग्रिला यादव र बर्दिबास नगरपालिका–९ बस्ने सुरेन्द्र महतोकी छोरी १३ वर्षीया कञ्चनकुमारी महतोले आत्महत्या गरेका हुन् ।

सांग्रिलाले आफ्नै सुत्ने कोठामा रहेको पंखामा र कञ्चनले घरभन्दा २०० मिटर पर रहेको आँपको रूखमा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरी उपरीक्षक कार्कीले बताए । दुई किशोरी एकै दिन किन, के–कति कारणले झुन्डिएर आत्महत्या गरे भन्नेबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ भने दुवै किशोरीको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको जनाइएको छ ।