नेपाल चिनाउन प्रशान्त महासागरमाथि आतीसबाजी गरिने

नेपाल चिनाउन प्रशान्त महासागरमाथि आतीसबाजी गरिने


  • राजन घिमिरे, अष्ट्रेलिया

अष्ट्रेलियामा कुनै चाडपर्व तथा नयाँ वर्ष उत्सवका अवसरमा गरिने फायरवर्कस् (आतीसबाजी) यहाँ बस्दै आएका नेपालीहरूले हेर्दै आएका छन् । विश्वकै पर्यटकीय स्थानका रूपमा चर्चित सिड्नीमा रहेको हार्बर ब्रिज र ओपेरा हाउस वरिपरि हुने यस्ता आतिसबाजीले अष्ट्रेलियामा रहेकाहरूको ध्यान गज्जबसँग खिच्ने गरेको छ । कुनै समारोहमा यस्तो आतीसबाजी भयो भने सबैले एक–अर्कालाई सोध्ने गर्छन्– ‘कसले किन र केका लागि गरेको यस्तो ?’ जवाफ आउँछ– ‘आज फलानो देशको नयाँ साल रहेछ, यस्तो चाड मनाइँदैछ वा यस्तो समारोह रहेछ ।’

यसबाट प्रष्ट हुन्छ कि विदेशीमाझ आफ्नो मूलुक चिनाउने र मुलुकप्रति ध्यान खिच्ने गहकिलो शैलीको रूपमा स्थापित भएको छ आतिसबाजी । प्रशस्त डलर खर्च गर्न तयार र्भ पनि अष्ट्रेलियामा जो–कोहीले उत्सव मनाउनको निम्ति यस्तो शैली अपनाउन सक्दैन । किनकि, यस कार्यको लागि यहाँको प्रशासनिक प्रकृया धेरै झन्झटीलो छ । मुलुक चिनाउने उच्चतम शैली भएका कारण पनि जो–पायो त्यसले सजिलै यो प्रकृया अपनाउन सक्दैन ।

अंग्रेजी नयाँ वर्ष शुरू हुने अघिल्लो रात अष्ट्रेलियन सरकारले नै यस्तो कार्यक्रमको आयोजना गर्ने गर्छ र अष्ट्रेलियामा रहेका समस्त विदेशी तथा नेपालीले पनि फायरवर्कस (आतीसबाजी) हेर्ने अवसर पाउँछन् । तर, अब भने पहिलोपटक विदेशी भूमिमा नेपालीहरूकै नयाँ वर्षको स्वागत फायरवर्कस् ( आतीसबाजी) बाट हुने भएको छ । सिड्नीमा रहेका उत्साही युवाहरूको लामो प्रयासपछि यो कार्यले मूर्तरूप पाउन लागेको हो ।

‘सधैँ आफू–आफू नाच्यो खायो रमायो अनि नयाँ वर्ष मनाइयो भनेर हुन्छ ? हामीले हाम्रो मुलुकप्रति विदेशीको ध्यान खिच्नु पर्दैन ? केही नयाँ गर्नु पऱ्यो भनेर यो सोच आएको हो’, कार्यक्रम आयोजक ‘हो र होइन होला इभेन्ट्स’का रोशन भट्टराईले भने ।

यो कार्यक्रम नेपालीहरूको नयाँ सालको स्वागतार्थ चैत्र ३० गते (अप्रिल १३) शनिबार हार्बर ब्रिज र ओपेरा हाउसको बीचमा हुने भएको छ । यहाँ रहेका नेपालीहरूबीच धेरै कार्यक्रम हुने गर्छ तर यस्तो कार्यक्रम भने पहिलोपटक हुन लागेको छ । बोट पार्टी नाम दिइएको यो कार्यक्रम सिड्नीको ‘सर्कुलर की’बाट शनिबार राती ८ बजे बोट हिँडेपछि शुरू हुने छ भने चार घण्टा प्रशान्त महासागरमाथि बोटमा घुमेपछि नयाँ साल शुरू हुन लाग्दा आतिसबाजी हुने कार्यक्रम रहेको छ ।

भट्टराईले अगाडि भने– ‘करिब १० मिनेट पूरै अष्ट्रेलियाले नेपालीहरूको नयाँ वर्षको बारेमा थाहा पाउने गरेर आकाशमा फायरवर्कस् (आतीसबाजी) हुने छ । आतीसबाजीलाई हामीले समृद्धि र समुन्नत नेपाल नाम दिएका छौँ । यसको उद्देश्य यही हो ।’

एस पिपुल ऐजुकेसन एण्ड भिसा सर्भिसेस र एभरेष्ट ट्राभल्स एण्ड टुर्सको प्रस्तुति रहने उक्त कार्यक्रम प्रवासमा पहिलोपटक हुन लागेको दाबी गरिएको छ । ‘मूलतः विदेशीहरूको नेपाल र नेपालीप्रति ध्यान खिच्नु नै हाम्रो उद्देश्य हो,’ आयोजकको भनाई छ ।