राष्ट्रिय स्नुकरको उपाधि निर्माणलाई

राष्ट्रिय स्नुकरको उपाधि निर्माणलाई


काभ्रेका निर्माण बोगटीले प्रथम साकुरा राष्ट्रिय स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । जमलस्थित आयोजक साकुरा स्नुकर क्लबमा भएको ‘बेस्ट अफ इलाभेन’को फाइनलमा निर्माणले तनहुँका अमिर श्रेष्ठलाई ६–३ को फ्रेममा पराजित गरे ।

घरेलु स्नुकरमा सर्वाधिक पुरस्कार राशिको प्रतियोगितामा निर्माणले अमिरलाई ६४–५३, ५२–६४, १११–२३, ११६–३७, १२४–१२, २–११३, ३४–५८, ८४–३४ र १०८–३० को प्रदर्शन गरे । करिब २० वर्षको करिअरमा निर्माणको समग्रमा १७औँ उपाधि हो ।

राष्ट्रिय स्तरको प्रतियोगितामा भने ३६ वर्षीय निर्माण पहिलोपटक च्याम्पियन बनेका हुन् । योसहित निर्माणले तीन राष्ट्रिय स्तरका प्रतियोगिता खेलेका छन् । अमिरको भने ७ वर्षको खेलजीवनमा यो नै पहिलो प्रतियोगिता हो ।

उपाधिसँगै निर्माणले १ लाख १० हजार नगद पुरस्कार हात पारे भने अमिरले ४० हजार नगदमा चित्त बुझाए । निर्माणले अर्को उपाधिका रूपमा सर्वाधिक ब्रेककर्ताको उपाधि पनि चुमे । उनले ९३ को ब्रेक गरेका थिए । सुनसरीका सञ्जय बज्राचार्य उत्कृष्ट खेलाडी घोषित भए । १६ वर्षीय मोरङका आयुश गौतम सहभागीमध्ये कान्छा खेलाडी भए ।

विजेतालाई पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघका अध्यक्ष चारपटकका पूर्वराष्ट्रिय च्याम्पियन सरोजकुमार मुल्मीलगायतले पुरस्कृत गरे । स्नुकर संघको मुख्य सहयोगमा फागुन २९ गतेदेखि शुरु प्रतियोगितामा १ सय २८ खेलाडीले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा फरक क्षमता भएका २ खेलाडीलाई दर्ता शुल्क नलिई प्रतिस्पर्धा गर्ने अवसर पनि प्रदान गरिएको थियो ।

छनोट सोमबारदेखि

बंगलादेशको ढाकामा हुने प्रथम सार्क स्नुकर च्याम्पियनसिपका लागि खेलाडी छनोट चैत ११ गते सोमबारदेखि शुरु हुँदै छ । छनोटमा साकुरा स्नुकर च्याम्पियनसिपमा शीर्ष ८ स्थानमा रहने खेलाडी तथा नेपाल बिलियर्ड, पुल तथा स्नुकर संघले निर्धारण गरेको शीर्ष ८ वरीयता गरी १६ खेलाडीबीच प्रतिस्पर्धा हुनेछ ।

साकुरा स्नुकरमा शीर्ष ८ मा रहने खेलाडीहरूमा निर्माण र अमिरसहित वाङछु चाप, विकेश राई, सञ्जय बज्राचार्य, उदिप शाक्य, आयुश गौतम तथा फुरी शेर्पा छन् । स्नुकर संघको वरीयतामा परेका खेलाडीमा राजन लामा, रेगन श्रेष्ठ, विकास श्रेष्ठ, सोम लामा, दीपक मगर, अमन कार्की, सुजेन शाही र मोती लामा छन् । यी आठ साकुरा स्नुकरमा सहभागी थिइनन् ।
स्नुकर संघका महासचिव केशवराज अधिकारीका अनुसार १६ खेलाडीबीच पहिले नकआउट आधारमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि नकआउटमा जित हात पार्ने ८ खेलाडीलाई दुई समूहमा विभाजन गरी लिग खेलाइनेछ । दुवै समूहको विजेताले ढाका यात्रा पक्का गर्नेछन् । ढाकामा प्रतियोगितामा जुलाई २१ देखि २७ तारिखसम्म सञ्चालन हुनेछ ।