कुराँस प्रतिस्पर्धामा ओसिका र शेरबहादुरलाई स्वर्ण

कुराँस प्रतिस्पर्धामा ओसिका र शेरबहादुरलाई स्वर्ण


सिन्धुलीकी ओसिका केसी र बाग्लुङका शेरबहादुर मगर प्रथम कुराँस प्रतियोगितामा स्वर्ण जित्न सफल भएका छन् । ओसिका ४८ केजी तौल समूहमा आफ्ना प्रतिद्वन्द्वीहरूलाई पाखा लगाउँदै स्वर्ण हात पार्न सफल भएकी हुन् । यस्तै, पुरुष ५५ केजी तौलमा शेरबहादुरले स्वर्ण हात पार्न सफल भएका थिए ।

कपनस्थित बालउद्धार माविको हलमा भएको प्रतियोगितामा महिलातर्फको ५२ केजीमा सिन्धुपाल्चोककी सविता पण्डित, ५७ केजीमा बाग्लुङकी कृति शर्मा, ६३ केजीमा खोटाङकी कविता राई र ७८ केजीमा भक्तपुरकी जयन्ती श्रेष्ठ आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै स्वर्ण हात पार्न सफल भएका छन् ।

यस्तै पुरुषतर्फको ६० केजीमा बाग्लुङका उमेश मगर, ६६ केजीमा सोलुखुम्बुका आशिष खुलुङ राई र ७३ केजीमा काठमाडौंका उपेन्द्र्र थापाले स्वर्ण हात पारे । महिलातर्फ ५ र पुरुषतर्फ ४ गरी कुल ९ स्वर्ण पदकका लागि १३ जिल्लाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले उद्घाटन गरेका थिए । सदस्यसचिव विष्टले छोटो समयमा नै संघले अन्तर्राष्ट्रियस्तरमा खेलाडीलाई प्रतिस्पर्धा गराउनुका साथै राष्ट्रिय प्रतियोगितामार्फत उच्च खेलाडी उत्पादनका साथै वैदेशिक प्रतियोगितामा पदक हासिल गर्ने सम्भावित खेल रहेको बताए ।

संघका अध्यक्ष ध्रुव न्यौपानेको अध्यक्षमा भएको कार्यक्रममा राखेप प्रतियोगिता तथा योजना विभागका प्रमुख रिम रानाभाट, राष्ट्रिय टिम तयारीका प्रमुख अर्जुन विकको उपस्थिति रहेको थियो ।