एसइई परीक्षामा नायिकादेखि सांसदसम्म परीक्षार्थी

एसइई परीक्षामा नायिकादेखि सांसदसम्म परीक्षार्थी


आजदेखि देशभर माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु भएको छ । बिहान ८ बजेबाट शुरु भएको परीक्षामा मुलुकभरबाट ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् । छात्राको संख्या २ हजार १ सय १३ ले बढी हो ।

यो वर्षको एसइई परीक्षार्थीहरू स्कुले उमेर १४ देखि १८ वर्षका मात्रै छैनन् । सेलेब्रिटी, जनप्रतिनिधि र बूढापाका पनि परीक्षामा सहभागी छन् । नायिका करिष्मा मानन्धरले पनि परीक्षामा सहभागीता जनाएकी छिन् । उनी काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् । यस्तै, नेकपाकी सचेतक शान्ता चौधरी पनि गृहजिल्ला दाङको तुल्सीपुरबाट एसइई परीक्षा दिँदैछिन् ।

खुला विद्यालय प्रणालीमा पढेकी प्रतिनिधिसभा सांसद ३८ वर्षीया चौधरीले सेन्टर मावि तुल्सीपुर केन्द्रबाट जाँच दिएकी छिन् ।

उनी एमालेबाट २०६४ र २०७४ मा दुईपल्ट सांसद भएकी हुन्। उनकी १७ वर्षीया छोरी बिनुले पनि यही वर्ष सिर्जना बाल विद्यालय काठमाडौंबाट एसईई दिएकी छिन् ।