सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मध्य कमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ प्रक्राउ परेका छन् । शनिबार विहान नेता वलीसहित सो पार्टीका नौ जना नेता कार्यकर्तालाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएको हो ।
नेतृत्वको वरियताका हिसाबले ओली नेकपाका तेस्रा शीर्ष नेता हुन् । उच्च तहका नेता भएकोले उनको गिरफ्तारीलाई सरकारले महत्वपूर्ण ठानेको बुझिएको छ ।
काभ्रेपलाञ्चोक र ललितपुरको सिमानामा पर्ने खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनीनजिकैबाट बा. १७ च ४८९३ नं को स्कारपियो गाडीबाट वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलसम्बद्ध स्रोत उल्लेख गरी राससले जनाएको छ । बताइएअनुसार उनीहरूलाई दुई जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च/अप्रेशन’का क्रममा पक्राउ गरेको हो ।
बताइएअनुसार वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठमाडौंतर्फ लागेको थियो । गाडीमै रहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् ।
काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मङ्गलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । सो सर्च अप्रेशनका क्रममा वली भाग्न सफल भएका प्रहरीको दाबी छ ।
प्रतिक्रिया