मायामी, हामी र पानीजहाज

मायामी, हामी र पानीजहाज


  • तिलक पौडेल

निवृत्तयोग्य अवधिसम्म सरकारी सेवा गरी सेवानिवृत्त भएपछि बाबु–नानीहरूको आमन्त्रणालाई स्वीकार गर्दै हामीहरू गत दुई महिनादेखि संयुक्त राज्य अमेरिकामा छौँ । ५२ वटा राज्यमा विभाजित अमेरिकालाई विश्वको समृद्धशाली शक्तिराष्ट्रका रूपमा लिइन्छ । हामीहरू ‘फ्लोरिडा’ राज्यको ‘लेक वर्थ सिटी’मा छौँ । यहाँ आएपछि बिहान उठी सूची–निची गरी योगादिकर्म गरेर स्नान गर्नेजस्ता नित्यकर्मपछि प्रातः कालीन नास्ता गरी ‘मर्निङवाक’मा एक घन्टा बिताउने गरिएको छ । काठमाडौंको चैत–वैशाखतिर हुने मौसमसँग मेल खाने यहाँका यी कर्मले शरीरमा स्फुर्ती एवम् ताजगीपन ल्याएको महसुस भएको छ ।

हिँडाइ सकेर फर्केपछि साबिकमा पढ्न रहर भए तापनि समय छुट्याउन नसक्दा पढ्न नपाएका पुस्तकहरू (गुणरत्नमालाका मलाई मनपरेका श्लोकहरू लेखेर मुहारपुस्तिका ‘फेसबुक’मा पोस्ट गरेको छु, हितोपदेश र पञ्चतन्त्रका मनपरेका व्यहोराहरूको स्वर रिकर्ड ‘भाइवर’मा अपलोड गरेको छु, इच्छुक महानुभावहरूले भेट गर्न सक्नुहुन्छ, भर्तृहरिशतकसङ्ग्रह, विदुर नीति) पढ्ने, ‘फेसबुक’ अद्यावधिक गर्ने, नेपाली समाचार सुन्ने र ई–पत्रिकाहरूमा आँखा दौडाउने, यहाँ रहनुभएका साथीहरूसँग सम्पर्क गरी समसामयिक गफगाफ गर्ने, दिउँसोको खाना खाने, शरीरको माग अनुसार केही समय आराम गर्ने, साँझ सबैजना जुटेपछि पार्कहरूमा टहल्ने, सायमकालीन भोजन गरी आराम गर्नेजस्ता कार्यसम्पादनको समयतालिकाले नियमितता पाएको छ ।

हालसालै समाचारमा विराटनगरदेखि चतराधामसम्म पानीजहाजको सञ्चालनसम्बन्धी र प्रधानमन्त्रीले पानीजहाज कार्यालयको उद्घाटन गरेका समाचारमा आँखा जुध्न पुगे । सो समाचारका प्रतिक्रियाहरूमा ‘त्यो त डुङ्गा हो’, ‘यसलाई पावरबोट भनिन्छ’, ‘यस्तो जिनिस कालीगण्डकी नदीमा २००५ देखि नै मिर्मीदेखि सेतीबेनीसम्म ६०–७० जना ओसार्न प्रयोगमा छ’, ‘यस्तो त साठीको दशकमै चलेको हो’, ‘समुद्र नभा’को ठाउँमा खोलामा अट्ने जहाज चल्छ त ठीकै छ’, ‘बसले ५ घन्टा लगाउने ठाउँमा १५–२० मिनेटमा पुगिन्छ भने राम्रो भयो नि’, जस्ता व्यहोराहरू पढ्न पाइयो भने तस्बिरमा ‘यहाँ पानीजहाजको टिकट पाइन्छ’ भन्ने सूचनासहितको टिकट काउन्टर देख्न पाइयो । १०० जनासम्म एकपटकमा ओसार्न सक्ने खुवीका २ वटा पानीजहाज (?) भित्रिएपछि प्रधानमन्त्री केपी ओलीबाट पानीजहाज कार्यालयको उद्घाटन गरेका कारणले यो समाचारले अनपेक्षित चर्चा पाएको महसुस भयो ।

मनमा तर्कहरू सल्बलाए – ‘आखिर हवाईमार्गबाट हिँड्ने यातायातको साधन ८–१० जना बोके पनि (ट्विनटर, पिलाटस पोर्टर आदि) हवाईजहाजै हुन् भने जल र पानीको मार्गबाट हिँड्ने यातायातको साधन पनि पानीजहाजै भने भयो । आखिर हिँडाउने मार्गअनुरूपको न सञ्चालन गर्नुपऱ्यो । त्यही १०० जना ओसार्नेलाई त हिँड्ने बाटो नभएर बनाइँदै छ भने त्योभन्दा ठूलोको सम्भावना त हुने भएन नै । बरु नेपालको झन्डा फर्फराएर कुनै महासागरमा चलाउने हो भने पानीजहाज खरिद गर्नुपऱ्यो…’, र प्रतिक्रिया पनि लेख्दो भएँ ।

संयोग गत आइतबार ‘मायामी’ सहरको समुद्रीतटको अवलोकन भ्रमणमा गएका थियौँ । फ्लोरिडा राज्यका ६७ ‘काउन्टी’ (स्थानीय निकायहरू) मध्येको ‘मायामी डेड’ महानगर रहेछ । त्यसैगरी फ्लोरिडाका ३७९ वटा सहरहरूमध्येको ‘मायामी’ सहर दक्षिणमा पर्ने एउटा पर्यटकीय सहर रहेछ । हामी लेकवर्थ सहरबाट केन्द्र सरकारले निर्माण गरेको निःशुल्क हिँड्न पाइने सडकमार्ग (९५) बाट यात्रा अघि बढायौँ । त्यस्ता सडकमार्गको सन्दर्भमा सर्वसाधारणलाई पैसा तिर्नु नपर्ने एकतर्फी ३–४ वटा ‘लेन’हरू र हतारमा भएका वा जाम नभएको सहजयात्रा गर्न चाहनेहरूका लागि सुदूर बायाँतर्फ पैसा तिरेर गुड्न पाइने स्थानअनुसार १–२ वटा ‘एक्स्प्रेस लेन’को व्यवस्था मिलाइएको रहेछ ।

त्यस्तै बायाँतिरको एउटा लेनलाई ‘हाई अकुपेन्सी भेइकल – एचओभी’ लेन भनिँदो रहेछ । यसमा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समयमा दुई वा दुईभन्दा बढी यात्रुसहितको गाडी मात्र हिँड्न पाउने व्यवस्था रहेछ । फेरि ‘सनपास’ लिएर ‘टोल ट्याक्स काउन्टर’मा देखाएपछि नियमानुसारको कर तिरेर हिँड्न पाइने खालको सडकको पनि व्यवस्था रहेछ, जसलाई ‘टर्नपाइक अर्थात् एक्स्प्रेस हाइवे’ भनिँदोरहेछ, जहाँ कतै, कुनै दुर्घटना परेबाहेक ‘सवारीजाम’ नहुँदा सरासर हिँड्न पाइँदोरहेछ । यस्तै चर्चाहरू गर्दै हामी डेढ घन्टाको यात्रा तय गरी मायामी सहरमा पुग्यौँ ।

मायामी पुगेपछि ‘आइसल्यान्ड क्विन क्रूज’बाट महासागरको एकछेउमा घुम्ने काम भयो । प्रतियात्रु २८ डलर भाडा भए पनि ‘अनलाइन बुकिङ’ गर्दा १६ डलरमै घुम्न पाइएको व्यहोरा छोराले जानकारी गराए । यस्तो व्यहोरा अन्य सरसामान खरिदमा पनि लागू हुने रहेछ । ‘किन यस्तो होला ?’ को जिज्ञासामा ‘सायद कर्मचारी थोरै भए पनि हुने, काउन्टरमा भिड नहुने, ‘आईटी’लाई प्रोत्साहन मिल्ने हुनाले हो कि’ जस्ता तर्कहरू हामी गैरव्यापारिक व्यक्तिहरूबीच चर्चा भए । यात्रा आरम्भको करिब १ घन्टा भएपछि यात्राका पथप्रदर्शकले व्याख्या गर्ने क्रममा ‘अब दायाँतिर हेर्नुभयो भने तपाईंहरूले ‘हार्मोनी अफ द सी’ नामको संसारकै दोस्रो ठूलो पानीजहाज देख्न सक्नुहुन्छ’ भन्नुभयो ।

स्वभावतः हाम्रा आँखाहरूले खोजी गरे । विशालकाय सो पानीजहाज हेर्दै साह्रै ठूलो लाग्दथ्यो । सुनिएको थियो– पानीजहाजमा त पौडने पोखरी ‘स्विमिङपुल’ हुन्छ रे ! नाचघरहरू ‘थिएटर’ हुन्छन् रे ! फुटबल खेल्ने मैदान पनि हुन्छ रे ! ठीकैका हवाईजहाज उत्रने ‘एयरपोर्ट’ हुन्छ रे ! … नभन्दै कल्पनामा भएकोभन्दा ठूलो पानीजहाज देखिएपछि पातलो मन स्वदेशिन पुग्यो । अनि उल्लिखित हामीकहाँका पानीजहाजे व्यहोरासँग तुलना भए ।

त्यहाँबाट हामीहरू ‘बास्कोयान पार्क’तर्फ लाग्यौँ । अनलाइनबाटै नास्ताको आदेश गरी ‘गेटवे’ नामको रेस्टुरेन्टबाट नास्ता सङ्कलन गरी तीनतिर समुद्रले घेरिएको सो सहरको सुदूरदक्षिणमा अवस्थित सो पार्कमा प्रतिगाडी ८ डलर तिरी प्रवेश गऱ्यौं । माछा मार्ने, दूरवीनबाट अवलोकन गर्ने, समुद्रमाथि सातवटा छाप्रेघर निर्माण भएको देखिने, माछा–मासुको सेकुवा बनाएर खान सकिने गरी उभिएरै ‘बार्बिक्यु’ तयार पार्न मिल्ने चुलोको व्यवस्था भएको सो पार्कमा गएर हामीले नास्ता गऱ्यौं। समुद्रीतटको अवलोकन गऱ्यौं । मलाई भने दोस्रो ठूलो पानीजहाज देखेपछि संसारकै पहिलो ठूलो पानीजहाजबारे जानकारी लिने रहरले उछार दिएन ।

अन्ततः घरमा फर्केपछि रहर पूरा गर्दा अहिलेको सबैभन्दा ठूलो यात्रुबाहक पानीजहाज ‘सिम्फोनी अफ द सी’ रहेछ । सन् २०१८ को मार्च ३१ बाट सेवा शुरु गरेको यो पानीजहाज बनाउन सन् २०१६ को स्थिर मूल्यमा १.३५ विलियन डलर (करिब डेढ खर्ब नेपाली रुपैयाँ) को लागतमा रोयल क्यारेबियन क्रूज लि. ले निर्माण गराएको रहेछ । रोयल क्यारेबियन इन्टरनेसनलले सञ्चालन गरेको यो पानीजहाज फ्रान्सको सेन्ट नाजेरको सिपयार्ड अफ एट्लान्टिक (Chantiers de lÚAtlantique) नामको कम्पनीले २०१४ मे महिनाको आदेशानुसार २३ मार्च २०१८ मा निर्माण सम्पन्न गरेको रहेछ ।

‘सिम्फोनी अफ द सी’ को लम्बाइ ३६१.०११ मिटर, चौडाइ पानीको सतहमा ४७.४४८ मिटर र माथि ६६ मिटर अनि उचाइ ७२.५ मिटर रहेछ । यसमा १८ तला (१६ तला यात्रुहरूलाई उपलब्ध हुने) रहेछन् । यसलाई सञ्चालन गर्न २२०० कर्मचारीको व्यवस्था रहेछ भने यसमा बढीमा ६६८० जना यात्रुले यात्रा गर्न सक्दारहेछन् । मायामीलाई यसको ‘होम पोर्ट’ मानिएको रहेछ । यसलाई सन् २०१८ को अक्टुबरमा संसारको सबैभन्दा ठूलो यात्रुबाहक पानीजहाज घोषणा गरिएको रहेछ ।

यस पानीजहाजले ७ दिनका लागि उल्लिखित यात्रुहरूलाई स्तरीय सेवा उपलब्ध गराउनका लागि करिब ९,७०० पाउन्ड कुखुराको मासु, १५ हजार पाउन्ड गाईको मासु, पाँच हजार तीन सय पाउन्ड बङ्गुरको मासु, दुई हजार पाँच सय पाउन्ड सालमोन, दुई हजार एक सय पाउन्ड गँगटा, ६० हजार गोटा कुखुराका फुल, ५० हजार पाउन्ड फ्रेन्चफ्राई, २० हजार पाउन्ड आलु, १२ हजार ६ सय पाउन्ड पीठो, सात सय पाउन्ड आइसक्रिम सामग्रीहरूसमेत बोकेर हिँड्दोरहेछ । यसमा करिब ४० ब्रान्डका बियरहरू, ३४० ब्रान्डका वाइनहरू, १२५ वटा स्पेसल कक्टेल, ४० प्रकारका फलफूल र ८० प्रकारका तरकारीहरूको व्यवस्था मिलाइएको रहेछ । यसैगरी २३ वटा स्विमिङपुल–ह्रिलपुल, २ वटा फ्लोराइडर, सर्फ सिमुलेटर र वाटर स्लाइडरका लागि २,१५० टन (४७,००,००० पाउन्ड) सफा पानी पनि बोक्दोरहेछ ।

यसमा २३ वटा रेस्टुरेन्टमा ३०० प्रकृतिका खानेकुराको मेनु उपलब्ध हुँदोरहेछ । यसमा जङ्गलको बहारका लागि करिब ३० हजार प्रजातिका बिरुवाहरू भएको पार्क रहेछ भने १३ हजार भन्दा बढी आर्टपिसहरू सजाइएको व्यहोरा जानकारी भयो । अतिथिहरूका लागि २४ वटा एलिभेटरको व्यवस्था भएको सो पानीजहाजमा खेलकुदका लागि भलिबल, बास्केटबल, फुटबल मैदान, स्केटिङ, ४३ फिटको रकक्लाइम्बिङ वाल, मनोरञ्जनका लागि थिएटर, हालसम्मकै सबैभन्दा अग्लो (समुद्रसतहबाट १५० फिट) वाटरस्लाइड, बारहरूको व्यवस्थाका साथै सुत्नका लागि सानादेखि अति सुविधासम्पन्न कोठाहरूको व्यवस्था हुँदोरहेछ ।

यस्ता विश्वरेकर्ड राखेका पानीजहाजदेखि हाम्रो विराटनगरदेखि चतराधामसम्म सयजना यात्रु ओसार्ने जलगाडीलाई पनि पानीजहाज भन्नुपरेको अवस्था हाम्रै भूपरिवेष्टितता एवम् गरिबी हो जस्तो लाग्यो । तसर्थ, महासागरहरूमै नेपाली झन्डा फहराएर सेवा लिने र दिने हो भने पानीजहाज निर्माण कम्पनीहरूसँग सम्पर्क गरी कुनै पोर्टमा दर्ता गर्ने र रुट कायम गरेर सञ्चालन गर्न नसकिने देखिँदैन, यसका लागि आवश्यक रकम विनियोजनको बन्दोबस्त यथासमयमा मिलाउनुपर्ने देखिन्छ । अन्यथा नेपाली जलमार्गमा चल्ने पानीजहाज त तिनै ‘स्टिमोर’ प्रकृतिकै हुन्, जसलाई डुङ्गा, वाटरबोट, पानीजहाज जे भने पनि भनियोस् ।

‘…सके सपारौँ, नसके नबिगारौँ…’

लेकवर्थ, वेस्टपाम बीच, फ्लोरिडा (०७५ फागुन २३ गते बिहीबार)