बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज बन्ने

बुटवलमा प्रदेशस्तरीय मेडिकल कलेज बन्ने


प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश ५ को रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकामा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको शुक्रबार उदघाटन गरेका छन् । सरकारको एक प्रदेश एक मेडिकल कलेजको अवधारणाअनुरूप सो कलेज बन्न लागेको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार विकास निर्माणमा सरकार गम्भीर ढंगले लागेको बताए । उनले भने, ‘जनता सधैँ पीडामा बस्ने होइन, अब खुसी र सुखी बन्न पाउनुपर्छ । अब त्यो आत्मविश्वास लिएर अगाडि बढ्न जरुरी छ ।’

प्रधानमन्त्री ओलीले सरकारले गरेको राम्रो कामको प्रचार गर्नुको साटो केही मिडियाले गलत प्रचार गरेको बताए । ‘आँखा चिम्लेर सरकारको विरोध गरिएको छ, आँखा खोल्दा जताततै विकास र समृद्धि देखिन्छ, यसमा केही मिडिया र केही बुद्धिजीवी सहभागी छन्,’ उनले भने, ‘सीके रातसँगको सहमतिले विखण्डनको अन्त्य भयो भनेरसमेत विरोध भयो, अरूको के कुरा ।’ सरकारविरुद्ध भएका गलत प्रचार र भ्रममा नपर्न प्रधानमन्त्री ओलीले सबैमा अनुरोध गरे ।

उनले तिलोत्तमामा निर्माण हुन लागेको मेडिकल कलेज सुविधासम्पन्न र स्तरीय सेवा प्रदान गर्ने किसिमले स्थापना गर्न जरुरी रहेको धारणा राखे । ‘रोगको निदान र उपचारका लागि अन्धविश्वास नराखी वैज्ञानिक पद्धति अपनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

सो अवसरमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सरकारले ‘एक प्रदेश एक मेडिकल कलेज’को अवधारणा अगाडि सारेको बताए । उनले भने, ‘यो एउटा सन्तानका रूपमा तिलोत्तमाको आँगनमा निर्माण हुँदै छ, यसलाई सबैले आफ्नो सन्तानका रूपमा माया गर्नु जरुरी छ ।’ महासचिव पौडेलले प्रदेशमै स्वास्थ्योपचारका क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति तयार गर्न मेडिकल कलेज महत्वपूर्ण साबित हुने बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको काम समयमै पूरा गर्नतर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए ।