ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते


ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा शुक्रबार दिउँसो एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–२ का ४२ वर्षीया जुना केसी रहेकी छिन् ।

बनेपाबाट भक्तपुरतर्फ जाँदै गरेको ना.६ख ४७३५ नम्बरको ट्रकले बनेपा नपा–१४ अरनिको राजमार्गस्थित २२ किलो भन्ने स्थानमा शुक्रबार दिउँसो करिब १२ बजे सोही दिशातर्फ गइरहेको ७२.प६६८२ नम्बरको मोटरसाइकललाई पछडिबाट ठक्कर दिँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार केसीको उपचारका क्रममा शिर मेमोरियल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

जुना श्रीमान् ४७ वर्षका देवबहादुर केसीसँग मोटरसाइकलमा घर फर्कंदै थिइन् । ठक्करबाट घाइते भएका मोटरसाइकल चालक देवबहादुरकोे सोही अस्पतालमा उपचार भइरहेको छ । जुनाको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

ठक्कर दिने ट्रक र त्यसका चालक हेटौँडानिवासी रामभाइ गोपालीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।