केही चाखलाग्दा काम, कुरा र अड्डाहरू

केही चाखलाग्दा काम, कुरा र अड्डाहरू


दोस्रो महायुद्धको शुरुदेखि नै लगातार अङ्ग्रेजी हारको खबर सुन्दासुन्दा वाक्क–पाक्क भएका उपल्लो मुठ्ठीभर नेपाली, अंग्रेजको लडाइँमा अलिकति, केही र कतै सर भएको खबर पनि निकै मज्जा मानेर सुन्दथे र चढाइ–बढाई अरूलाई सुनाउँदथे । अङ्ग्रेजको जित भएको मामुली खबर सुन्दा श्री ३ जुद्ध दङ्ग पर्ने हुँदा, मि.सु. विष्णुमणि आचार्य दीक्षित (श्री ३ जुद्धलाई रोज विदेशी छापा पढी सुनाउँथे अधिकृत) ले त्यस्ता साना, बासी र तासी खबर लिखा टिपाई गरेझैँ, छापामा खोजीखोजी उनलाई बिन्ती गर्दथे । यही चाला थियो दिग्गज राणाजीहरूका चाकरीदारहरूको पनि ।

लडाइँ (ब्याटल) हारे पनि युद्ध (बार) जित्दछौँ भन्ने अङ्ग्रेजी फुइँ र दाबीमा केही राणाजीहरू विश्वस्त थिए– विश्वासले विश्वास पैदा गर्ने हुँदा । जो कुरा रेडियो घरमा हुने एकाध नेपाली ‘बीबीसी’बाट सुन्दथे, त्यही कुरा उनीहरूले अरूलाई बाहिर चढाएर वा बढाएर भन्दथे । भारतबाट आउने धेरैजसो छापामा पनि ब्रिटिस सरकारको युद्धमा कुभलो भएको खबर छापिँदैनथ्यो– कुभलो नै भए पनि । नेपाल आउने एकाध भारतीय छापा त्यस्तैखाले मात्र हुन्थे ।

यस्तो पृष्ठभूमिमा बीबीसीले २००१ साल असार (सन् १९४३ जुलाई १०) मा अङ्ग्रेज र अमेरिकन फौज उत्रेपछि अब लडाइँ एक किसिमले सकियो भने पनि भयो भन्ने निष्कर्ष जोसले जिब्रो चपाएर प्रसार गर्नु सही र बिल्कुल समयानुकूल थियो । लडाइँताका बीबीसीले धेरै कुरा गोल–मटोल बोलीमा प्रचार गर्दथ्यो । अङ्ग्रेजले लडाइँ हार्दा पनि सितिमिति हार स्वीकार गर्दैनथ्यो र कहिलेकाहीँ अलिकति लडाइँमा कहीँ ब्रिटिसको सर भयो भने त, त्यो खबर पट्यारै लाग्ने गरी अति चढाएर बढाएर दोहोऱ्याउँदथ्यो, तेहेऱ्याउँदथ्यो । लडाइँ खुलेको चार वर्षपछि सर्वप्रथम ब्रिटिस फौजले युरोपमा पाइला टेकेकोमा बीबीसीको प्रचारले त्यसबखत असाधारण नयाँ मोड लिनु स्वाभाविकै कुरा थियो ।

बीबीसीको त्यस बिहान लडाइँमा केही जित भएको बुलन्द प्रचार सुनेपछि श्री ३ जुद्धलाई पूरा युद्ध नै सकिएजस्तै भान परेकोले उनले तुरुन्त फौजी पोसाक लगाई सेतो अर्वी घोडा चढी, खरीको बोटमा आई धरहराबाट सङ्कटकालीन विगुल बजाउन लगाए– नेपाली जनतालाई पनि त्यो अङ्ग्रेजी विषयको सुखद खबर चाँडो सुनाउन र आफले शुरुदेखि नै अङ्ग्रेजले युद्ध जित्दछ–जित्दछ भनेको कुरा पुग्यो भनेर साबित गर्न । उनको त्यस दिनको त्यो गलत धारणा र अनावश्यक हडबडीको खास कारण थियो इटालीमा अमेरिकन र ब्रिटिस फौज घुसेपछि युरोपको युद्ध एक किसिमले टुङ्गियो भने पनि भयो भन्ने बीबीसीको हडबडे प्रसारण ।

श्री ३ जुद्धको अलि धाक र रवाफ देखाउने बानी थियो । विदेशीसँग हात मिलाउँदा उनी उसको हात निक्कै झड्कारिदिन्थे । एकाध अङ्ग्रेजी शब्द जोडसँग बोल्दथे– सुन्ने मानिस नै हतासिने गरी । एक दिन लैनका बडासाहेबसँग कुरा गर्दागर्दै अड्केर साँचोलाई के भन्दछ अरे भनी उनले आफ्नो साथै बसेका सरदर प्रकटमानसिंह प्रधानलाई सोध्दा, उनले ‘की’ भन्दछ महाराज भनेपछि ‘यो कुरा साँचो हो’ भनी अङ्ग्रेजी भाषामा महामहिम राजदूतलाई ‘दिस इज की’ भनेथे अरे भनी कसैकसैले उनको खिसी उडाउँदथे । कुरा साँचो–झुट्टा के हो थाहा छैन । तर, त्यस कुराको चर्चा भने त्यसबखत श्री ३ जुद्धलाई मन नपराउनेहरूमा आमचर्चा थियो । वास्तवमा उनको अङ्ग्रेजी भाषामा उति दखल थिएन, तर चिठीपत्र लेख्दाखेरि भने स्पेलिङको कुनै वास्ता नराखेर प्रशस्त अङ्ग्रेजी शब्दको प्रयोग गर्दथे ।

निकै सप्रेका, हक्की र झक्कड खालका मानिस हुँदा श्री ३ जुद्धको व्यक्तित्व बहुतै भरोसालाग्दो थियो । अरूहरूको त के कुरा नेपालमा मै हुँ भन्ने चन्द्र परिवारलाई पनि उनले पछिपछि थर्कमान पारेका थिए, केशरशमशेर काण्डपछि (त्यसबखत द.क.ज., केशर सिकारका पनि तालुकवाला थिए ।) एकबाजी श्री ३ जुद्धलाई ज. सिंहले मचानबाट बाघ मराउँदा अति प्रसन्न भई तराईको सिकारबाट नेपाल फर्केपछि एक दिन राति टेलिफोनबाट श्री ३ जुद्धले केशरशमशेरलाई ‘जनाव’ (सिंहशमशेरको बोलाउने नाम) ले मलाई मचानबाट बाघ मराए, कस्ता तक्मा दिन ठीक पर्ला’ साइँला भनी सोध्दा, अलि ओठे जवाफ दिने आदत भएका, बाउँठो खालका केशरले, ‘एक बाघ मराउने जनावले तक्मा पाउने हो भने म सयौँ बाघ मराउनेले के पाउने महाराज ?’ भनी उल्टा टेलिफोनमा श्री ३ जुद्धलाई उनले सोधेछन् । यो १९९२-९३ सालतिरको कुरा हो ।

त्यो अपमान सहिनसक्नु भई भोलिपल्टै चन्द्रशमशेरका सबै छोरालाई सिंहदरबारको उही बैठकमा, जहाँ मुख्तियार रुद्रशमशेर र अरू वीर र भीमशमशेरका अविवाहिता रोलवाला छोरालाई १९९० सालमा देश निकाला गरेथे, त्यहाँ निकैबेर कुचीख्याई अनि बैठकमा आई श्री ३ जुद्धले ‘प्रधानमन्त्रीसँग मुखमुखै लाग्नेलाई के हुन्छ जेठा’ भनी जङ्गीलाठ मोहनलाई सोधे ।

त्यतिका बेर बैठकमा कुर्न पर्दा अब के गर्न लागे र के हुन लाग्यो भनी हतास, मोहनशमशेरले ‘नेपालमा प्रधानमन्त्रीले जे पनि गर्न सक्दछन्, महाराज’ भनेपछि ‘तिम्रो साहिँला भाइले हिजो राति मसँग टेलिफोनमा मुखमुखै लाग्यो । तिमीहरूको मुमाको गुनले गर्दा भइगयो केही गर्दिनँ’ भनी चन्द्रशमशेरका छोराहरूलाई थर्काएथे । यस किसिमको सान श्री ३ जुद्धले बराबर देखाउँदथे ।

उनले १९९० सालमा ‘सी’ क्लास रोलवाला राणाजीहरूलाई रोलबाट हटाई, नेपालबाट निष्कासन गर्दा, सिंहदरबारको त्यो ठूला बैठकभित्र दुवै हातमा भरेको पेस्तोल लिई, थोङलिङ पिङमाङको रोव लगाई, नाटकीय चालले श्री ३ जुद्ध पसेका कुरा माथि उल्लेख भइसकेको छ । कञ्चनपुरमा बाघ सिकार गर्दा जङ्गलमा बाटो बिराई, एक अदना थारूको घरमा रात काटेको र थारूलाई बिर्ता दिएको बयान निकै चढाई–बढाई प्रचार गराएथे र राजर्षि भई बग्गी चढेर रिडीतिर प्रस्थान गर्दा गेरु रङको साफा गुथेका थिए । त्यसैले त्यो महायुद्ध नसिद्धिँदैमा विसर्जन भयो भन्ने खबर खरीको बोटबाट घोषणा गर्न उनले त्यस्तो जङ्गी बर्दी लगाई असाधारण सान र तरिका अपनाएको हुन सक्दछ ।

(त्यसबखतको नेपाल, लेखक सरदार भीमबहादुर पाँडे)