तेस्रो नजर

तेस्रो नजर


pathakmanchकस्तो होला त नयाँ नेपाल ?
प्रजातन्त्र प्राप्तिको यत्तिका वर्ष व्यतीत भइसक्दा पनि हाम्रा नैतिक धरातल र आफूले खाएको शपथ बिर्सेर पद र पैसामा मरिहत्ते गरिरहने स्वभाव जिम्मेवार भनिएका नेतागणमा नबदलिएको तमाम नेपालीले देख्न–सुन्न परिरहेको छ । देशमा शिक्षाको क्षेत्रमा हेरौँ– महँगो शिक्षा व्यवस्था छ । स्वास्थ्यको क्षेत्रमा हेरौँ– चारैतर्फ रोगको महामारी नै छ । युवा रोजगारीको क्षेत्रमा हेरौँ– देश छोडेर विदेश पलायन हुनुपरेको छ । विकासको अवस्थालाई हेरौँ– स्थानीय जनप्रतिनिधिको अभावमा कर्मचारीबाटै विकास निर्माणको खर्चमा प्रत्यक्षता हुने हुँदा अनियमितता र व्याप्त भ्रष्टाचारले गाँजेको छ । न्यायको क्षेत्रमा हेरौँ– त्यो पनि सर्वसुलभ छैन । त्यसमा हुने पदको मनोनयनमा आफ्नो र पराई राजनीतिक पार्टीको भागबन्डा गर्नाले कसरी स्वच्छ न्याय हुन सक्छ ? तर्क छैन । भागबन्डाको कारणले नै गहन कानुनविज्ञ र स्वतन्त्र न्यायिक विचारधाराका व्यक्तित्वको अभाव नै छ । यसैगरी धर्मको क्षेत्रमा हेरौँ– धर्मको नाममा तत्काल उत्तेजना उत्पन्न गराएर गरिने अनेकौँ मनोवैज्ञानिक ठगी (महायज्ञजस्ता धार्मिक अनुष्ठान लगाई पैसा असुल्ने प्रवित्ति) चलेको छ ।
देशमा विकृति, विसङ्गति, अनैतिकता, दुराचारहरूले सङ्क्रमण गरिरहेकोले कसरी स्वच्छ लोकतन्त्र स्थापना होला भन्ने चिन्ता सचेतजनमा व्याप्त छ । व्यक्तिगत स्वार्थ र दलगत भावनाले प्रेरित राजनीतिक संस्थाहरूको हर्कत एकातिर छ भने खराबीको पराकाष्ठा प्रदर्शन गर्नेहरू नै सत्ताको पेरिफेरीमा भइरहनाले स्वच्छ कार्य गर्नेहरू निष्क्रिय रहनुपरेको छ । अतः भोलिको नेपालको भविष्य यस्तै हुन्छ भनी निश्चय गर्न सकिएको छैन । सारा मानिस काल्पनिक कुरामा र क्षणिक स्वार्थका लागि फटाहाका पछाडि कुदिरहेका छन् । ज्ञान, विवेक र इमानदारी नभएका नेताहरूको पछाडि अन्धभक्ति देखाउने जनताले देशका लागि के योगदान गर्लान् ? खोक्रा आदर्श बोकेर दौडिरहनेसँग कुनै प्रश्न, उत्तर, लक्ष्य वा दृष्टिकोण राख्नुको कुनै तुक पनि हँुदैन । अहिले बन्न लागेको संविधानको विषयलाई मात्र हेरे पनि यथेष्ट उदाहरण मिल्दछ । नयाँ बन्ने संविधानले देशको उज्ज्वल भविष्यको सपना बोकेको छैन । दश वर्षसम्म पनि बनाउन नसकेको संविधानका लागि दुई दिनमा कसरी सुझाव दिन सकिन्छ ? संविधान भनेको देशको मूल कानुन हो । त्यो राज्य सञ्चालनको दस्तावेज पनि हो । त्यसमा बाझिने कानुन सबै अमान्य हुन्छन् । त्यस्तोलाई खेलाचीपूर्वक र लहडमा बनाइनु हुँदैन । त्यसले पार्ने दूरगामी असर घातक र विषाक्त हुन जान्छ । भारतमा दलित वर्गका बाबा अम्बेडकरले बनाएको संविधान सबैभन्दा ठूलो मानिन्छ । त्यो संविधान पनि आजसम्म सय पल्टभन्दा बढी संशोधन भइसक्यो । त्यसैले पूर्ण त संसारमा केही हुँदैन । तर, पूर्ण र राम्रो बनाउने प्रयास चलिरहन्छ । मूल कुरो यो हो कि संविधानबाट राज्यको भविष्य निर्धारित हुने हुँदा त्यो व्यापक विवादास्पद हुनुहुँदैन ।
हाम्रा दृष्टिकोणहरू दश दिनपछिसम्मका लागि पनि टिकाउ छैनन् । हाम्रा वृद्धिजीवी, राजनेता समाजसेवीसँग पनि आफ्नै दृष्टिकोण आफैँमा विरोधाभास छन् । त्यसको कारण के हो भने उनीहरू आफैं त्यस कुरामा संयमित छैनन् । राज्यले पनि सक्षम व्यक्तिहरूलाई ठीक ठाउँमा पदस्थपना गरेको देखिँदैन । हालै गएको विनाशकारी भूकम्पको उदाहरण हेरे पुग्छ । भूकम्पले निम्त्याएको विनाश र त्यसबाट हुन गएको धनजनको क्षतिको अहिलेको तथ्याङ्क र ११९० माघ २ गते गएको महाभूकम्पको जनधनको क्षतिको तथ्याङ्क तुलनात्मक दृष्टिले हेर्ने हो भने त्यसबखतको जनधनको क्षति आजको भन्दा दश गुण बढी मान्नुपर्छ । के त त्यसबेला यतिविधि सहयोग, यतिविधि विकास भइसकेको थियो त ? तै पनि व्यवस्थित रूपले भूकम्पपीडितलाई राज्यले सम्हालेको थियो । अहिलेको धनजनको क्षति नेपालीका लागि लामो दुःख र अनवरत रूपले चलाउनुपर्ने जीवन सङ्घर्षलाई सरकारले दूरगामी दृष्टिकोण पु-याएको छैन । पुनर्निर्माण र आर्थिक विकास दुवैलाई साथै लिएर अगाडि बढ्नु जरुरी छ । त्यसमा आफ्नो र अरूको भन्ने भेद राख्नु नै पर्दैन । त्यसका पूर्वाधारमा भूकम्पमा पूर्णक्षति भई गाँस, बास र कपास गुमाएकाहरूका लागि पहिलो अवस्था भोजन (गाँस), दोस्रो अवस्था विश्राम (वास) र तेस्रो अवस्था कपास (लत्ताकपडा) हुन् । क्रमशः रोजगारी, सीप विकास, शिक्षा, जनस्वास्थ्य, सरसफाइ र खानेपानी, न्यूनतम आधारभूत अन्य आवश्यकताहरू हुन् । राज्यले नागरिकहरूका लागि त्यो आवश्यकता पूरा गरिदिनुपर्ने राज्यको सरकारको पहिलो दायित्व हो । अहिले यो अवस्था अन्य क्षेत्रहरूमा भन्दा पनि भूकम्पले नोक्सान पारेका क्षेत्रहरूका जनताको बसोवास, सुरक्षा, र अरू प्रबन्ध पहिलो उच्च प्राथमिकताको क्षेत्र तोकी राख्नुपर्दछ । भूकम्पबाट आंशिक क्षति पुगेका, तर जिउधनको भने त्यति धेरै नोक्सान नपरेकालाई बसोवासको मात्र व्यवस्था, दोस्रो क्षेत्रमा पार्नुपर्ने देखिन्छ, तर राजनीतिक कार्यकर्ताको भर्तीकेन्द्रजस्ता बनाइने विकास अभियानका कार्यक्रमहरू र भ्रष्ट नोकरशाहीहरूसँगको साँठगाँठबाट के त्यो सम्भव छ ?
नेपालको सुदूरभविष्यको सुनौलो सिर्जना कुराले होइन कामले हुन्छ । असल चरित्रका नोकरशाही र सबल न्याय–प्रणाली नभएसम्म त्यो सम्भव पनि छैन । अतः राज्य र सरकार सभ्य र विकसित बन्न उसका नागरिकहरू पनि राष्ट्रिय कर्तव्यपरायण हुनु नै पर्दछ । सभ्य र शालीन समाज निर्माण गर्ने जिम्मेवारीमा रहेकाहरूसँग नै कसरी देश बनाउने भन्ने कुराको प्रस्ट रूपरेखा छैन भने ‘भोलिको नेपाल सुन्दर छ, नेपालीको भविष्य राम्रो हुन्छ’ भनेर फलाक्दैमा कसरी त्यो साकार हुन्छ ? सपना बाँडेर सत्ता–सुन्दरीलाई अङ्कमाल गर्दैमा हुन्छ र ? वास्तवमा नेपालको भविष्य यस्तै अन्योलमा गाँजिएको छ ।
– यज्ञबहादुर कार्की, भक्तपुर

संस्कृत भाषाको महत्व
भाषा, संस्कृति, धर्म, भेषभूषा र जनताको सम्मिश्रण भनेको नै देश हो । यी सम्पूर्ण कुराको धरोहर भनेको हाम्राे ऋषि–महर्षिहरूले आर्जेको संस्कृत भाषा (देववाणी) नै हो । उक्त भाषा लिच्छवि आदिकालहरूमा नेपालमा बोलचालकै भाषाको रूपमा रहेको भन्ने कुरा त्यसबेलाका शिलालेख र ताम्रपत्र आदिबाट प्रमाणित हुन्छ । जुन भाषालाई हामी वर्तमान समयमा पनि केही वर्ष अगाडिसम्म पाठ्यक्रममा पढ्दै र पढाइँदै आएको हो र संस्कृति विद्यापीठहरू त आजसम्म जीवित छँदै छ । संस्कृति भाषा वैज्ञानिक, सबै भाषाको मातृभाषा र प्राचीनतम भाषा हो । यस भाषालाई सर्वत्र अनिवार्य भाषाको रूपमा पाठ्यक्रममा पुनः समावेश गर्न आवश्यक छ । किनभने संस्कृति भाषा समृद्ध भाषा हो । भाषाको हिसाबले मात्र होइन नैतिक आचरण र संस्कृतिका हिसाबले पनि यो समृद्ध छ । तर, यो देशका नेताहरूले संस्कृत भाषाको महत्वलाई बुझ्नै सकेनन् ।
०६२/६३ को जनआन्दोलनमा कहीँकतै चर्चा नै नभएको विषयलाई उठाएर सुनियोजित ढङ्गमा धर्मनिरपेक्ष घोषणा गरे, जसलाई नेपाली जनताले कदापि स्वीकार गरेको छैन । हिन्दूहरूको राज्यमा बसेर धर्मनिरपेक्ष्ँ घोषणा गर्ने नेताहरूले के जनभावना बुझेकै हुन् त ? के यिनीहरूको अपवित्र मुखबाट ‘लोकतन्त्रमा जनता नै सर्वोपरि हो’ भनेर कुर्ली–कुर्लीकन भाषण गरी सँैझँ, साधा र निमुखा जनताको आँखामा छारो हालेर अमूक धर्मको दुनो सोझ्याउनेलाई यस धर्तीमा पाइला राख्ने अधिकार छ त ? आफू उभिएकँे भूमि नै भासिन लागेको नदेख्नेलाई रूखको हाँगाको सबै काटिएपछि आफू कहाँ गुँड बनाएर बस्ने हो भन्ने बुद्धि नआउनु त आश्चर्यको कुरा भएन, तर जसलाई हामी लक्ष्मी, माता आदि मानेर नित्य पूजा गर्दछौँ, तिनै गौमातालाई निर्ममतापूर्वक हामै्रसामु हत्या गर्नेजस्तो घोर अपराध देखेर पनि हामीलाई क्रोध आएन भने हामी बाँच्नुको अर्थ हुनेछैन । आज दुश्चक्रीहरूले हामी आराध्य लक्ष्मीमाताको हत्या गरे, भोलि पशुपतिनाथको हत्या गर्नेछन्, पर्सि लुम्बिनीको हत्या गर्नेछन्, त्यसपछि जानकी मन्दिर, देवघाट, मुक्तिनाथलगायत हाम्रा आर्य संस्कार र संस्कृतिका धरोहरस्वरूप सम्पूर्ण चाडपर्व दसैँ, तिहार, तिज, पञ्चमीजस्ता चाडपर्वहरूलाई पनि क्रमैसँग हत्या गर्नेछन् । तपाईंहरूले जति बेला उनीहरूको कालो कर्तुत थाहा पाउनुहुनेछ, त्यतिबेला धेरै ढिलो भइसकेको हुनेछ । त्यतिबेला तपाईंहरूको साथमा तमाम नेपालीको करुण चीत्कार, क्रन्दन सुन्न र पश्चात्तापको रापमा पिल्सिएर बस्नुभन्दा अरू कुनै उपाय बाँकी रहनेछैन । त्यसकारण अहिले सुतिरहने बेला छैन । घरघरबाट सनातन वैदिक हिन्दूुराष्ट्र नेपालको झन्डा लिएर सडकमा निस्कौँ ।
– दुर्गाप्रसाद न्यौपाने
भीमस्थान–१, सिन्धुली