अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या

अफगानिस्तानमा दुई अमेरिकी सैनिकको हत्या


अफगानिस्तानमा शुक्रबार दुईजना अमेरिकी सैनिक मारिएको नेटोले जनाएको छ । वासिङ्टन र तालिबानबीच शान्तिवार्ता जारी नै रहेको अवस्थामा अन्तर्राष्ट्रिय संयुक्त गठबन्धनमा आबद्ध सेनाको मृत्यु भएको हो ।

अफगानिस्तानका लागि नेटोआबद्ध सहयोग मिसनले यस विषयमा विस्तृत विवरण दिन अस्वीकार गरेको छ । कुनै विशेष कारबाहीमा खटिएको अवस्थामा ती सैनिक मारिएको नेटोको भनाइ छ ।

अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको बम विस्फोटमा ६ जनाकोे मृत्यु भएको एक दिनपछि नै नेटो सेनामाथि आक्रमण भएको छ । राजधानीमा रहेको सिया मुसलमान समुदायले पर्सियाली नयाँ वर्ष मनाइरहेका समयमा भएको विस्फोटमा ६ जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते थिए ।

अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट नेटोआबद्ध प्रायः सैनिक ‘अफगान युद्ध’ सकिएको घोषणा गर्दै फर्किएपछि अफगानिस्तानमा सुरक्षाको जिम्मा अफगान सैनिकमा आएको छ । सुरक्षाको जिम्मा अफगान सैनिकको काँधमा आएपछि अफगानिस्तानमा अमेरिकी सैनिक हताहत नाटकीय रूपमा कमी आएको थियो ।

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले अफगानिस्तानको शान्तिप्रक्रियाका लागि विदेशी समुदायसँग परामर्शको लागि रुसी, चिनियाँ र युरोपेली विशेषदूतसँग भेटवार्ता र परामर्श गरिरहेका छन् ।

केही समयअघि पनि अमेरिकी अगुवाइमा अफगान सरकार र तालिवानका प्रतिनिधिबीच विभिन्न चरणमा कतारमा वार्ता भएको थियो ।