कथावाचन प्रचलनलाई जिवित राख्ने प्रयास

कथावाचन प्रचलनलाई जिवित राख्ने प्रयास


नेपाली समाजमा कथावाचनको लामो परम्परा रहे पनि हालका दिनमा कथावाचनको प्रचलन दिनानुदिन घट्दै गइरहेको छ । एकल परिवार, अल्पकालीन सोचका शैक्षिक योजनाहरू, अस्थिर राजनैतिक अवस्था, मानिसको कमजोर आर्थिक अवस्था, भाषा, साहित्य तथा कितावप्रति मानिसको मोह नजाग्नु, टिभीको बढ्दो प्रभाव जस्ता कैयन् कारण छन् जसले तथाकथित रुपमा पठन संस्कार वा कथावाचनमा नकारात्मक प्रभाव पारिरहेका छन् भनिन्छ ।

तर वास्तवमा पठन संस्कार वा कथावाचनको परम्परा लुप्त हुँदै जानुको प्रमुख कारण यसको जगेर्ना नहुनु नै हो । संस्कारसँग जोडिएका विषय वा क्रियाकलापको जगेर्ना त्यतिबेला मात्रै हुन्छ, जब यसको प्रचलन बढ्दै जान्छ । कथा पढ्ने, पढाउने वा सुनाउने काम कम हुँदै गर्दा मानिसले यसलाई बिर्संदै जान थालेका छन् ।

कथावाचनसँग सम्बद्ध यही समस्यालाई ध्यानमा राख्दै यसको प्रचलनलाई जिवित राख्नका लागि कथावाचक समाज नामक संस्था हाल कार्यरत रहेको छ । बालसाहित्यसँग सम्बन्धित यस संस्था कथावाचनका लागि नेपालमा संगठित सम्भवत पहिलो पनि हो । विश्व कथावाचन दिवस (मार्च २०)को पूर्वसन्ध्यामा यस संस्थाले लाजिम्पाट स्थित डिल्लीरमण–कल्याणी स्मारक पुस्तकालयसँगको सहकार्यमा एउटा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना ग¥यो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति के.के. कर्माचार्यको प्रमुख आतिथ्यमा आयोजित यस कथावाचनसहितको अन्तरक्रियात्मक कार्यक्रमलाई प्रमुख अतिथिले कथावाचन गरेर नै उद्घाटन गरेका थिए ।

कार्यक्रममा समाजका उपाध्यक्ष कृष्णदीप सिग्देलले ‘कक्षामा कथावाचन’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै उपाध्यक्ष सिग्देलले कथावाचनका सैद्धान्तिक विषयहरूबारे जानकारी गराएका थिए । बालबालिकालाई विषयवस्तु बुझाउन, मनोरञ्जन दिन तथा कुनै विषयमा एकाग्र बनाउन पनि कथावाचनले महत्वपूर्ण योगदान दिने उनको भनाई छ ।

कार्यपत्र प्रस्तुत हुँदै गर्दा संस्थाका महासचिव यशु श्रेष्ठबाट विश्व कथावाचन दिवसका लागि यस वर्षका लागि गय गरिएको नारा ‘पौराणिक कथा, किंवदन्ती तथा महाकाव्य’ अन्तर्गतका कथा वाचन गरेका थिए ।

वरिष्ठ बालसाहित्यकार चूडामणि बन्धूले पठन संस्कृतिको विकासमा कथावाचनको महत्वपूर्ण योगदान हुने बताए । कथावाचक समाजका अध्यक्ष ध्रुव घिमिरेले परम्परादेखि चलिआएको कथावाचनको परम्परालाई जगेर्ना गर्ने प्रयास कथावाचक समाजले गरेको बताए । कार्यक्रममा समाजका सदस्यहरू राजेन्द्रभक्त जोशी, सुमन महर्जन, रमेश डङ्गोल, उजेली सुनार लगायत बालसाहित्यसँग सम्बद्ध साहित्यकार, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन समाजका सचिव जनार्दन बरालबाट भएको थियो ।

सन् १९०१ देखि कथावाचन दिवस सुरु भए पनि सन् २००४ देखि भने हरेक वर्ष २० मार्चमा विशेष नारासहित विश्वभर मनाउन थालिएको हो । नेपालमा पनि कथावाचक समाजले यो परम्परालाई निरन्तरता दिन थालेको छ ।