चन्द समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह

चन्द समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह


प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा चन्द समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । उनले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय भएको बताए । ओलीले सीके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए ।

गौतमबुद्ध विमानस्थलमा पत्रकारले सोधेको प्रश्नका जवाफमा प्रधानमन्त्री ओलीले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिए । उनले भने, ‘लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिनेछ, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रूपमा विकास गरिनेछ ।’

प्रधानमन्त्री ओली शुक्रबार बुटवल मेडिकल कलेज र बुटवल–नारायणगढ चार लेन सडक उदघाटन गर्न रूपन्देही आएका हुन् ।