सीमाक्षेत्रमा निगरानी राख्ने एक्सरे मेसिन अलपत्र

सीमाक्षेत्रमा निगरानी राख्ने एक्सरे मेसिन अलपत्र


बाँकेस्थित भन्सार कार्यालयमा सीमाक्षेत्रमा निगरानी राख्न सहयोगी हुने दुई एक्सरे मेसिन एक वर्षदेखि गोदामै थन्किएका छन् । नेपाल प्रवेश गर्ने विन्दुमा सर्वसाधारण आवातजावत गर्दा ल्याउने/लैजाने हरेक सामानको जाँच गर्ने मेसिन प्रयोगविहीन भएका हुन् ।

एउटा वाकथ्रु गेट छ भने अर्को लगेज जाँच्ने मेसिन छ । दुवै मेसिन रु एक करोड बढी मूल्यको रहेको भन्सार कर्मचारीले बताएका छन् । ती मेसिन एक वर्षअघि नेपालगञ्ज ल्याइएका थिए । यस्तै प्रकारको मेसिन विराटनगर पनि पठाइएको र त्यहाँ पनि प्रयोग नभएको कर्मचारीको भनाइ छ ।

नेपालगञ्ज नाका हुँदै अहिले जोकोहीले चाहेमा जस्तोसुकै सामान लयाउन सक्छन् । त्यसलाई रोक्न प्रहरी, प्रशासन र स्वयं भन्सारका लागि उपयोगी हुने मेसिन भने त्यसै थन्किएको छ । भन्सारले मेसिन राख्ने उपयुक्त ठाउँ खोज्दाखोज्दै एक वर्ष बितेको बताएको छ । नेपाल प्रवेश गर्ने गेट नजिक सबैभन्दा उपयुक्त हुने भए पनि त्यहाँ मन्दिरका सटरहरु छन् ।

उक्त सटरमा मेसिन राख्न उपयुक्त हुने भए पनि मन्दिर सञ्चालक गुठीले भन्सारलाई सटर दिन आनाकानी गरेको छ । त्यस्तै भन्सारकै तल्लो क्षेत्रको विन्दुमा अब मेसिन राख्ने तयारी भइरहेको भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले बताउँछन् । उनले आफू आउनुअघि नै उक्त मेसिन आएको र जतिसक्यो छिटो मेसिन जडान गर्ने दाबी गरे ।