राप्रपा ‘जनआन्दोलन’मा किन ?

राप्रपा ‘जनआन्दोलन’मा किन ?


  • विजय खड्का

राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १ गते मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा हजारौँ जनताको विशाल उपस्थितिमा शक्ति प्रदर्शन गर्दै भृकुटीमण्डपमा काठमाडौंवासी दाजुभाइ तथा दिदीबहिनीको सहभागितामा विशाल आमसभासहित समापन गरेको छ ।

यसअघि फागुन १५ गते ताप्लेजुङको फुङलिङबाट शुरु गरिएको राष्ट्रिय स्वाभिमान यात्रा पहाडी, मध्यपहाडी तथा तराई मधेसको २८०७ किलोमिटर भूगोल छिचोल्दै जनजाति, पहाडी, तराई मधेसका लाखौँ जनसमुदायसँग साक्षात्कार गर्दै नेपालको महत्वपूर्ण तीर्थस्थलहरूमा धार्मिक अनुष्ठान, सयौँको सङ्ख्यामा कोणसभाहरू, पचासौँको सङ्ख्यामा आमसभाहरू, हजारौँ जनतासँग प्रत्यक्ष संवाद भलाकुसारीसहित जनताको अपार माया र समर्थन प्राप्त भएको छ, राप्रपाले सरकारसमक्ष पेस गरेको २२ बुँदे मागको सम्बन्धमा जनतालाई बुझाउनु, जनतामा जागरण ल्याउन र सत्तालिप्सामा रमाएर बसेको सरकार तथा किंकर्तव्यविमुढ प्रतिपक्ष दलको क्रियाकलापले जनता निराश भएर बसेको अवस्थामा जनतालाई जागृत गराउन यो स्वाभिमान यात्रा कोसेढुङ्गा भएको छ ।

जनतामा चरम निराशा बढेको बेला गरिएको स्वाभिमान यात्राले जनतालाई जगाएको मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानाकर्षण पनि गरेको छ, सबै पार्टीको क्रियाकलापबाट ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने नेपाली उखान चरितार्थ भएको अवस्थामा राप्रपाले पनि विगतमा गरेको गल्ती–कमजोरीको बाबजुद अहिलेको स्वाभिमान यात्रा र राप्रपाको कदमलाई ‘नहुनु मामाभन्दा कानो मामा जाती’ भन्ने उखानजस्तै भए पनि जनता राप्रपाको अभियानलाई स्वीकार गर्ने मुडमा छन् । जनताले गम्भीरतापूर्वक राप्रपाको अभियान र मुद्दामा साथ दिने सङ्केत दिएका छन् ।

राजाको तराई भ्रमण :

राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रासँगसँगै राजाको तराईको केही जिल्लाको महत्वपूर्ण भ्रमण भई रहेको छ, झापा मुकाम रहेको भ्रमण जनकपुरबाट उत्साहप्रद रूपमा शुरु भएको छ, राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वीकार नगरेको मिथिलाले राजालाई सहर्ष स्वीकार गरेको छ, हजारौँ जनताले राजाको जयजयकार गरेका छन्, तराई मधेसका जनताहरू राजा ल्याउनुपर्छ भनेर खुलेर लागेका छन्, अझ राष्ट्रपति अमेरिकाबाट नेपाल फर्कने दिन र राजा जनकपुर जाने दिन एउटै पर्नु, राष्ट्रपतिलाई ओछ्याइएको रातो कार्पेटमा सर्पले बाटो काट्नुले पनि नेपालको परम्परागत समाज तथा धार्मिक गणितीय शास्त्रीय मान्यताबाट नेपालको गणतन्त्रलाई ठूलो अपसगुनको रूपमा व्याख्या गरिन थालेको छ ।

यसैबीच राष्ट्रियताको लागि राजासँग सहकार्य हुन्छ भनेर उद्घोष गरेको नेपालको राजनीतिलाई महत्वपूर्ण चुनौती दिन सक्ने आकलन गरिएको शक्ति माओवादीलाई वार्ताको ढोका पनि बन्द गरेर सरकारले प्रतिबन्ध लगाएको छ, वार्ताबाट समस्याको शान्तिपूर्ण निकास निकाल्नुपर्नेमा हठात प्रतिबन्ध लगाउनु र प्रतिबन्धको कारण केपी र प्रचण्डको गाथ गादी ताक्ने जघन्य अपराध गरेबापत भनेर सरकार र स्वयम् प्रधानमन्त्रीले भनिसकेपछि यो सरकार भेनेजुएलाको निकोलस माधुरो शलीमा अगाडि बढेको प्रस्ट हुन्छ । लाखौं जनताको जीवन मुलुकको बर्बादीभन्दा पनि नेताहरूलाई मार्न षड्यन्त्र गऱ्यो भन्ने हास्यास्पद आरोप लगाएर एउटा राष्ट्रवादी शक्तिलाई मूलधारबाट पाखा लगाउनु निश्चित रूपमा शुभसङ्केत होइन । शक्ति, अकुत पैसाको दम्भले पोल्न थालेपछि सुरक्षा थ्रेटको नाममा विपक्ष दमन गर्ने र आफू ठूलो सुरक्षा घेराभित्र रहने सत्तापक्षको रणनीति देखिन्छ, राजाबिना सुरक्षा खतरा जनताको घर दैलोमा रहनु र परिवर्तनको दुहाइदिने नेतृत्व सुरक्षा घेराबीच रहनुले पनि नेपालको परिवर्तन खासगरी गणतन्त्र र धर्मनिरपेक्षता कति कमजोर जगमा उभिएको रहेछ भनेर आकलन गर्न सकिन्छ ।

सीके राउत प्रकरण :

राप्रपाले आन्दोलनको घोषणा गरेर स्वाभिमान यात्रा शुरु गरेपछि नेपालको राजनीतिमा महत्वपूर्ण घटना–परिघटनाहरू शुरु भएको छ, नेकपाका नेता रवीन्द्र अधिकारीलगायत राष्ट्रिय व्यक्तित्वहरूको रहस्यमय हेलिकप्टर दुर्घटना, विप्लव माओवादीलाई प्रतिबन्ध, सीके राउतलाई उच्च महत्व दिएर वार्ता तथा अन्तर्राष्ट्रिय रूपमा भारत पाक युद्ध, अमेरिकी राष्ट्रपतिको मेक्सिकोमा विशाल पर्खाल लगाउने निर्णय, ट्रम्प–किम वार्तापछि विश्वको प्रायः सबै क्षेत्रमा राष्ट्रवादी उभार आएको छ, यो राष्ट्रवादी रुझानबाट नेपाल पनि अछुतो रहन सक्दैैन । यसैबीच सरकारले जेलमा रहेको स्वतन्त्र मधेसको वकालत गर्ने सीके राउतलाई मूलधारमा ल्याउने नाममा रहस्यमय तरिकाबाट राजनीति स्पेस दिएपछि जनता आक्रोशित बनेका छन्, अदालतबाट छुट्नु, सम्झौता हुनु सबै सेटिङबाट मिलाइएको तथा यो प्राकृतिक सम्झौता नभएर एउटा रहस्यमयी प्रहसनजस्तो भएको भान हुन्छ । राष्ट्र विखण्डनजस्तो संवेदनशील मुद्दामा जनमतसङ्ग्रह गर्न सकिन्छ ? सबैतिर प्रश्न छ ।

मधेसको शक्ति सन्तुलनको नाममा राउत कार्ड प्रयोग गरी मूलधारको राजनीतिक दललाई तर्साएर सत्ता लम्ब्याउने र सीकेसँग सम्बन्धित विदेशी दातृनिकायलाई खुसी पार्नु यो रहस्यमयी सम्झौताको यथार्थ हुने आकलन नेपालका राजनीति विश्लेषकहरूले गरेका छन् । अब कुनै न कुनै रूपमा विखण्डनको नाममा कार्यक्रमहरू हुनेछन्, जनमतसङ्ग्रहको माग गरिनेछ, आत्मनिर्णयको अधिकारको माग गरिनेछ, यो कार्यबाट ओली राष्ट्रवादको असली चेहरा पर्दाफास भएको छ, निश्चित उद्देश्यको लागि, नेपालमा खेल्नका लागि देशी–विदेशी शक्तिबाट प्लान्टेड नेताहरूबाट नेपाली परम्परागत स्वाभिमानी राष्ट्रवादको रक्षा किमार्थ सम्भव छैन भन्ने हेक्का नेपाली जनतामा पलाएको छ, ओली राष्ट्रवादको पतनसँगै जनताको आँखा परम्परागत शक्ति, सम्वद्र्धनवादी शक्तितर्फ केन्द्रित हुन थालेको छ, हिन्दूवादी, राजसंस्थावादी र असली राष्ट्रिवादी शक्तिलाई एकाकार गराएर जनता राष्ट्रवादी शक्तिलाई स्थापित गर्न तयार रहेको घटनाक्रमले पुष्टि गर्दै ल्याएको छ ।यसैबीच राप्रपाले केन्द्रीय समितिको बैठक बोलाएर भावी आन्दोलनको रूपरेखा तय गरेको छ ।

राप्रपाद्वारा हिन्दूराष्ट्र पुनर्स्थापनालगायतका मागेहरू राखेर सञ्चालन गरिने जनसङ्घर्ष पहिलो चरणका कार्यक्रमहरूमा प्रचारप्रसार, देशव्यापी हस्ताक्षर सङ्कलन अभियान‬, सिंहदरबार, प्रदेश राजधानी र जिल्ला सदरमुकाममा धर्ना, स्थानीय तहको केन्द्रमा धर्ना‬, जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको ब्यानर जलाउने‬, राजमार्ग र चोकहरूमा सत्याग्रह‬जस्ता महत्वपूर्ण कार्यक्रम तय गरेको छ, यसपछि दोस्रो चरणमा सशक्त जनआन्दोलनको आँधी ल्याउने कार्यक्रम भएको दाबी राप्रपाले गरेको छ ।

अहिले जनताले विकल्प खोजिराखेको अवस्था छ, मुलुकको राजनीति तरल छ, जनतालाई ग्राह्य हुने विकल्प कसले ल्यायो भन्ने कुरा महत्वपूर्ण हो, दलको आकार कस्तो छ भन्ने कुरा महत्वपूर्ण होइन, राजनीतिक दललाई एउटा पसलको रूपमा हेर्ने हो भने नेता तथा कार्यकर्ता सेल्सम्यान हुन्, जनता ग्राहक, ग्राहकले मुख्य रूपमा प्रडक्ट हेर्छ, अहिलेको जनताको नजरमा परेको र मन पराएको प्रडक्ट हिन्दुत्वसहितको राष्ट्रवाद नै हो । अब यो विचारधारालाई जनतामा इमानदारीपूर्वक लैजान सक्ने, बुझाउन सक्ने नेता–कार्यकर्ता राप्रपाले जन्माउन सक्नुपर्छ, जन्मिसकेका पनि छन्, अहिले राप्रपाले राष्ट्रिय स्वाभिमान यात्राबाट महत्वपूर्ण ऊर्जा प्राप्त गर्नुको साथै शक्ति सञ्चय गरेको छ । अब राप्रपाको राजमार्गमा आउने सबै शक्तिलाई उल्लासमय स्वागत गर्दै पार्टीलाई जनमुखी, युवामुखी, सशक्त र अहिलेको चुनौतीको सामना गर्न सक्ने शक्तिशाली पार्टी बनाउनु आजको आवश्यकता हो, अब पार्टी एकीकरणको नाममा नअल्मलिन जनताले राप्रपालाई म्यान्डेड दिएका छन्, विशाल जनसभाहरूबाट पार्टी अनुमोदित भएको छ, लाखौँ जनतासँगको प्रत्यक्ष संवादबाट राप्रपाका नेता–कार्यकर्तामा थेगिनसक्नुको उत्साह आएको छ ।

मूलधारका सबै मिडियाबाट राप्रपाको भावी आन्दोलनको समाचारलाई प्राथमिकता दिइएको छ, अन्तर्राष्ट्रिय मिडियाको पनि राप्रपाको आन्दोलनले ध्यान तानेको छ, अन्तर्राष्ट्रिय समुदायले राप्रपाको मौलिक राष्ट्रवादी अभियानलाई सकारात्मक रूपमा लिने कुरामा राप्रपा ढुक्क छ । राप्रपा अध्यक्ष राष्ट्रवादी अभियन्ता कमल थापा केही मानवीय गल्ती–कमजोरीका बाबजुद समकालीन राजनीतिमा जुझारू र लोकप्रिय नेताको रूपमा उदाएका छन्, स्पष्ट वक्ता, सरल स्वभाव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान, कुशल सङ्गठक, तीक्ष्ण विश्लेषणले राप्रपा र सिङ्गो राष्ट्रवादी आन्दोलनलाई नै उचाइमा पुऱ्याउनेमा राप्रपा कार्यकर्ता र यसलाई सचेततापूर्वक नियालिरहेका आमजनसमुदाय ढुक्क छन् । १२ वर्षमा खोला पनि फर्कन्छ भन्ने नेपाली समाजको मनोविज्ञानसँगै सिङ्गो राष्ट्रवादी शक्ति, माओवादी, राजसंस्थासहित सम्पूर्ण लोकतान्त्रिक शक्ति अट्न सक्ने कसैलाई पनि निषेध नहुने व्यवस्थाको निर्माण गर्दै मुलुकलाई समृद्ध र विश्व मानचित्रमा एउटा सफल राष्ट्रको रूपमा उभ्याउनु आजको आवश्यकता हो ।

(लेखक राप्रपाका केन्द्रिय सदस्य हुन् ।)