कराते महासंघको अध्यक्षमा महर्जनको उम्मेदवारी घोषणा

कराते महासंघको अध्यक्षमा महर्जनको उम्मेदवारी घोषणा


राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष, अन्तर्राष्ट्रिय कराते खेलाडी तथा नेपाली कांग्रेसका युवा नेता मीनकृष्ण महर्जनले नेपाल कराते महासंघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सम्पूर्ण जिल्ला र सातै प्रदेशका करातेका खेलाडी, प्रशिक्षक र शुभचिन्तकको आग्रहमा आफूले अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको महर्जनले बताए ।

युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदका सदस्य शम्भुप्रसाद आचार्यको अध्यक्षतामा कराते महासंघ पुनर्गठन गर्दै गत महिना एकीकरणको घोषणासहित तीन महिनापश्चात् महासंघको निर्वाचन गर्न निर्देशन दिएको थियो ।

मन्त्रालयले तीन महिनाभित्र महासंघको निर्वाचन गर्न समयसीमा तोकेपछि अहिले कराते महासंघको अध्यक्षमा उम्मेदवारी दिने थुप्रै आकांक्षी देखिएका छन् । तीमध्ये केहीले भित्रभित्रै गुटबन्दी गर्दै अगाडि बढे पनि मीनकृष्ण महर्जनले भने सामाजिक सञ्जालमै अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारीको घोषणा गरेका छन् । महर्जनले खुला रूपमा महासंघको अध्यक्षमा उठ्ने घोषणा गरेपछि अहिले करातेमा सनसनी फैलिएको छ ।

सामाजिक सञ्जालबाटै महासंघको अध्यक्ष पदमा आफ्नो उम्मेदवारीको घोषणा गरेपछि महर्जनको चर्चा पनि चुलिएको छ । महर्जनसँग उम्मेदवारीबारे सम्पर्क गर्दा उनले केही महिनापश्चात् हुन लागेको कराते महासंघको अध्यक्षमा आफूले उम्मेदवार दिन लागेको सत्य भएको बताए । महर्जनले आफ्नो उम्मेदवारी जरुरी भएको भन्दै सातवटै प्रदेशका करातेका शुभचिन्तक, खेलाडी र प्रशिक्षकको आग्रहलाई सम्मान गर्दै आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने बताए ।

त्यस्तै, महर्जनले करातेमा झाँगिँदै गएको विकृति–विसंगति मौलाउँदै गएको र म्यानपावरको धन्धाको अन्त्य गर्न आफूले उम्मेदवारी दिएको बताए । यसैगरी आफ्नो उम्मेदवारी कराते खेलाडी, प्रशिक्षक र अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट नतिजा निकाल्न पनि भएको प्रस्ट पारे ।

वर्षौंदेखि कराते खेलमा जरो गाडेर बसेकाहरूले करातेलाई अधोगतितर्फ उन्मूख गराउन कुनै कसर बाँकी नराखेको बताउँदै करातेको इतिहास बचाउन पनि आफूले महासंघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी गराए । त्यस्तै आफू महासंघको अध्यक्ष भए कराते खेलको विकास र यसको स्तरलाई अन्तर्राष्ट्रियस्तरको बनाउन वार्षिक रूपमा राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने पनि बताए ।