नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गलत : महामन्त्री कोइराला

नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु गलत : महामन्त्री कोइराला


नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि भएकाले यसको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले भने, ‘गणतन्त्र र संघीयता जनआन्दोलनको उपलब्धि हो, मैले यसमा जनमतसंग्रह गर्नुपर्छ भन्ने कुरा गरेकै छैन ।’

महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रताको पक्षमा जनमतसंग्रह गर्न सकिने बताउँदै हिन्दू राज्यका विषयमा जनताले सरकारलाई दबाब दिन आवश्यक रहेको धारणा व्यक्त गरे । नेपाली कांग्रेसको अन्तिम बिन्दु धर्म स्वतन्त्रता नै रहेको उनले स्पष्ट पारे ।

सरकारले नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहलाई प्रतिबन्ध लगाउनु गलत भएको उल्लेख गर्दै कोइरालाले वार्ता र संवादमार्फत समस्याको समाधान खोज्नुपर्नेमा प्रतिबन्ध लगाउनु गलत भएको बताए ।

महामन्त्री कोइरालाले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाउँदै अहिलेसम्म प्रभावकारी योजना ल्याउन नसक्नु र कुनै नीति पनि कार्यान्वयन गर्न नसक्नु सरकारको असफलता भएको बताए ।

कांग्रेस प्रतिपक्ष भए पनि सोअनुसारको भूमिका निर्वाह गर्न नसकेको चर्चा गर्दै उनले कांग्रेस पूर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको योगदानले देश यहाँसम्म आएको बताए ।