राखेपको प्रस्ताव प्रस्तावमै सीमित हुने सङ्केत

राखेपको प्रस्ताव प्रस्तावमै सीमित हुने सङ्केत


  • श्रीविक्रम भण्डारी

प्रदेश ५ मा आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताप्रति आमखेलप्रेमीको चासो उत्कर्षमा रहे पनि त्यसलाई निराशामा परिणत गर्ने कार्य युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्को पटकपटक बसेको कार्यसमितिको बैठकले आठौँ राष्ट्रिय प्रतियोगिताको मिति तोक्न प्रस्ताव अघि सारे पनि मन्त्री सुनारले कुनै चासो नदेखाउँदा सन्निकट आठौँ राष्ट्रिय प्रतियोगिता आयोजना हुने–नहुने अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । राष्ट्रिय खेलकुद परिषद् आठौँ राष्ट्रिय जसरी पनि गर्ने पक्षमा देखिएको छ भने खेलकुद मन्त्रालयले भने अहिलेसम्म मौनता साँधेको छ । अर्थात् मन्त्री सुनारले राखेपको बोर्ड बैठक बोलाउने अहिलेसम्म कुनै सङ्केत देखाएका छैनन् । परिणाम, सम्पूर्ण तयारीका बाबजुद पनि आठौँ राष्ट्रियको आयोजना प्रश्नचिह्नको घेरामा परेको छ ।

पछिल्लो समय राखेपको कार्यसमितिको बैठक फागुन २७ गते बसेको थियो । उक्त बैठकले चैत २५ गते आठौँ राष्ट्रियको उद्घाटन गर्ने र ३० गते समापन गर्ने प्रस्ताव अघि सारेको थियो । राखेपले यो प्रस्ताव राखेकोे अहिले एक साताभन्दा बढीको भइसकेको छ, तर अहिलेसम्म बोर्ड बैठक बस्ने छाँटकाँट देखिएको छैन । जसले अहिले आठौँ राष्ट्रियको आयोजनामा अन्योलता मात्र नभई षड्यन्त्रको गन्धसमेत आएको छ । यसर्थमा कि अन्तिमपटक राखेपको कार्यसमितिको बैठकले चैत २५ मा उद्घाटन र ३० गते समापन गर्ने प्रस्ताव गरेपछि चैतको पहिलो साता प्रस्तावको छलफलका लागि राखेपको बोर्ड बैठक बस्ने परिषद्का सदस्यसचिव केशवकुमार विष्टले जानकारी गराएका थिए । त्यसपछि राखेपको चाँडै बैठक बस्ने र आठौँको अन्तिम र औपचारिक मिति तोकिने विश्वास गरिएको थियो । विडम्बना ! अहिले समयले नेटो काट्नै लाग्दासमेत मन्त्री सुनारले बोर्ड बैठकको आह्वान नगर्नु आठौँको आयोजनाको लागि चिन्ताको विषय बनेको छ ।

आखिर किन तोकिएको छैन, आठौँको राष्ट्रियको प्रतियोगिताको मिति ? सवाल उठ्नु स्वाभाविकै हो । यतिबेला आठौँको आयोजनाका लागि अन्य सम्पूर्ण पूर्वाधारको कार्य सम्पन्न भइसके पनि नेपालगञ्ज रंगशालाको भीआईपी प्याराफिट सम्पन्न नभएका कारण आठौँको मिति नतोकिएको खुलासा भएको छ । उद्घाटन समारोहका लागि नेपालगञ्ज रंगशालामा दुबो बिछ्याउने कार्य सम्पन्न भइसकेको छ । भीआईपी प्याराफिटका लागि एकलट सामान आइसकेको छ भने दोस्रो लटको सामान नेपालको भन्सारमा पुगिसकेको छ । यस्तो अवस्थामा पनि आठौँ मिति नतोकिनुको कारण के हो ? त्यो बुझ्न सकिएको छैन ।

आवरणमा हेर्दा मन्त्री सुनार र सदस्यसचिव विष्टको सम्बन्ध पनि सुमधुर देखिन्छ, दुवैजना एक–अर्कालाई होस्टेमा हैँसे गर्न तयार रहेको उनीहरूको क्रियाकलापले पनि देखाउँछ । तर, हलो के कुरामा गएर अड्किएको छ, त्योचाहिँ खेलाडी र आमखेलप्रेमीको समझभन्दा टाढाको कुरो बनेको छ । आठौँको आयोजनाप्रति राखेप सकारात्मक हुनु खेलाडीका लागि सकारात्मक पक्ष बने पनि मन्त्रालयको व्यवहार र कामकर्तव्यप्रतिको गैरजिम्मेवारीले खेलाडीलाई निराश बनाउँदै गएको छ । परिणाम, खेलाडीको मानसपटलमा आठौँको आयोजनाप्रति वितृष्णा जाग्दै गएको छ भन्दा अतिसयोक्ति नहोला ।

यतिबेला आठौँमा सहभागिता दिन र प्रतिस्पर्धा गर्न लगभग प्रदेशबाट पनि खेलाडीको छनोट भइसकेको अवस्था छ । जिल्ला, प्रदेश र अन्य क्रियाकलापको लागि राज्यले आठौँको लागि करोडौँको खर्च गरिसकेको छ । यस्तो अवस्थामा आठौँको आयोजनामा फर्केर हेर्ने अवस्था पनि छैन । किनकि पुनः छनोट गर्दा राज्यले फेरि करोडौँको लगानी गर्नुपर्ने प्रस्ट देखिन्छ । विगतका केही राष्ट्रिय प्रतियोगिताको उद्घाटन भएर पछि प्रतियोगिताको आयोजना भएको इतिहास भए पनि अहिले त्यस्तो गम्भीर कारण पनि छैन । र पनि, आठौँको मिति तोक्नमा सरकारले किन कन्जुस्याइँ गरिरहेको छ, त्यो आफैँमा रहस्यमय बनेको छ ।

राखेप प्रतियोगिता गर्न तयार छ, खेलाडी खेल्न तयार छन्, राज्यको करोडौँ लगानी भइसकेको छ, आयोजक प्रदेशले हरियो झन्डा देखाइसकेको छ, यस्तो अवस्थामा पनि सरकार किन अनदेखी र अनसुनी गर्दै कानमा तेल हालेर बसेको छ ? प्रश्न सोचनीय बनेको छ । के सरकार आठौँ गर्न चाहँदैन, चाहँदैन भने सोही किसिमको निर्देशन दिए भइहाल्यो । किन मिति नतोकेर झुलाउने कार्य गर्दै खेलाडीको भविष्यमाथि खेलवाड गर्दै आएको हो बुझ्न सकिएको छैन । यो रवैयाका कारण खेलकुदप्रति सरकार कति संवेदनशील छ त्यो कुरा पनि छर्लङ्ग हुन्छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा गर्दा र त्यसको इतिहास पल्टाउँदा अहिलेसम्म पूर्ण रूपमा पूर्वाधार निर्माण भएर कहिल्यै पनि राष्ट्रिय प्रतियोगिताको आयोजना भएको छैन । काठमाडौं होस् या वीरगञ्ज, पोखरा होस् या नेपालगञ्ज, धनगढी होस् या विराटनगर अहिलेसम्म कहीँ पनि पूर्ण रूपमा पूर्वाधार निर्माण भएर राष्ट्रिय प्रतियोगिताको आयोजना भएको तथ्य छैन । यी ठाउँहरूमा राष्ट्रिय प्रतियोगिता हुँदा भौतिक पूर्वाधारभन्दा पनि प्रतियोगितालाई विशेष जोड दिएको पाइएको छ । त्यहाँ खेलकुदका पूर्वाधार बन्ने आशामा प्रतियोगिताको आयोजना भएको देखिन्छ । उदाहरणका लागि धनगढीमा र विराटनगरमा सम्पन्न छैटौँ र सातौँ राष्ट्रिय प्रतियोगितालाई लिन सकिन्छ । यसर्थमा कि ती ठाउँमा राष्ट्रिय प्रतियोगिता आयोजना हुँदा त्यहाँको भौतिक पूर्वाधारको अवस्था कस्तो थियो सबलाई राम्रोसँग थाहा छ ।

ती ठाउँमा राष्ट्रिय प्रतियोगिताको आयोजनाका लागि बनाउन थालेका पूर्वाधारको निर्माण अहिलेसम्म पनि जारी छ । जुन धनगढी र विराटनगरमा गएर हेर्दा प्रस्ट रूपमा देख्न सकिन्छ । राष्ट्रिय प्रतियोगिताको आयोजनामा पूर्वाधारको चर्चा गर्दा यो तीतो सत्य प्रमुख रूपमा आउँछ । यसो भन्दैमा सधैँ यसरी नै सधैँभरि राष्ट्रिय प्रतियोगिताको आयोजना हुनुपर्छ भन्ने जरुरी छैन । तर, देशकाल परिस्थितिअनुसार चल्नुपर्छ भन्ने मानसिकताअनुसार आठाँै राष्ट्रियमाथि अन्याय भएको छ । यसर्थमा कि प्याराफिडबाहेक सम्पूर्ण आयोजना स्थलको तयारी हुँदासमेत आठौँ राष्ट्रियको मिति अहिलेसम्म तोकिएको छैन । जसले आठौँ हुने या नहुने कुरामा समेत अन्योल थपिदिएको छ । जसले सरकारप्रति नकारात्मक सन्देशको प्रवाह गरे पनि सरकारले भने अहिलेसम्म आत्मसात् गर्न सकेको छैन ।

भौतिक पूर्वाधार सम्पन्न नहुँदा अर्को मिति सारणी गरिएको सदस्यसचिव विष्टले जानकारी गराए पनि चुरो कुरोको फर्दाफास भने उनले पनि गरेका छैनन् । प्राप्त जानकारीअनुसार विष्टको कार्यकालमा दोस्रोपटक राष्ट्रिय प्रतियोगिता गराउन मन्त्री सुनार अनिच्छुक भएकै कारण यस्तो स्थितिको सिर्जना भएको बुझिएको छ । यो कुरालाई मन्त्री सुनारको व्यवहारले पनि प्रमाणित गर्छ । तर, विडम्बना ! शक्तिको आडमा मन्त्री सुनारले जुन खेल खेलेका छन् त्यसले आठौँको मानमर्दन मात्र नभई खेलकुदकै अस्तित्वसमेत सङ्कटमा परेको छ । तसर्थ राखेपको प्रस्ताव, प्रस्तावमै सीमित हुने र प्रतियोगिता षड्यन्त्रको सिकार बनेको सोझै अनुमान लगाउन सकिन्छ ।