नेपाली राजनीतिका ‘हक्की नेता’को सम्झना

नेपाली राजनीतिका ‘हक्की नेता’को सम्झना


महामानव विपी कोइरालाका कान्छा भाइ गिरिजाप्रसाद कोइराला हुन् । भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा विस १९८१ असार १८ मा जन्म भएको थियो उनको । बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित भएको बेला गिरिजाबाबुको जन्म भएको हो ।

कोइरालाका दुई दाजुहरू विपी कोइराला र मातृकाप्रसाद कोइराला नेपालका प्रधानमन्त्री भएका थिए । सन् १९२९ मा परिवारसँगै नेपाल फर्केका गिरिजाबाबुले सुष्मा कोइरालासँग विवाह गरे । कांग्रेस नेतृ सुजाता कोइराला गिरिजाबाबुकी एक मात्र सन्तान हुन् । तिनै ‘गिरिजाबाबु’ को नेतृत्वमा २००४ सालमा नेपाल मजदुर कांग्रेसको स्थापना भयो नेपालमा । अहिले त्यसलाई नेपाल ट्रेड यूनियन कांग्रेसको रूपमा चिनिने गरेको छ ।

२००८ सालमा ‘गिरिजाबाबु’ नेपाली कांग्रेस मोरङ सभापति बने भने २०१७ सालमा राजा महेन्द्रले सत्ता कब्जा गरी पञ्चायती शासनको स्थापना हुनु पूर्वसम्म मोरङ सभापतिमा रहिरहे । करिब ६ वर्ष जेल जीवन विताएका उनि रिहाई भएपछि भारतमा निर्वासित भएका ‘गिरिजाबाबु’ मेलमिलापपछि २०३५ सालमा नेपाल फर्किएका थिए । २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री भएका ‘गिरिजाबाबु’ २०५३ सालदेखि मृत्यु नहदाँसम्म लगातार पार्टी सभापति र देशको प्रधानमन्त्री हुँदै आएका थिए ।

‘गिरिजाप्रसाद’ नेपाली राजनीतिका एक सच्चा नेता पनि मानिन्छन् । मजदुरबाट शुरु भएको उनको राजनीति जीवन पटक पटक देशको प्रधानमन्त्रीसम्म बने । नेपाली राजीतिमा उच्च छवि बनाएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । कोइरालाको स्मृति दिवस नेपाली काँग्रेसले विभिन्न कार्यक्रम गरी मुलुकभर मनाउँदै छ ।

निडर नेताका रूपमा चिनिने ‘गिरिजाबाबु’ले विराटनगर जुट मिलमा मजदूरको रुपमा रहेर त्यहींबाट नेपाली राजनीतिको नेतृत्व गरे । उनकै नेतृत्वमै २०६२–६३ को आन्दोलन सफल भयो भने कोइरालाकै नेतृत्वमा नेपालमा गणतन्त्र आएको थियो । निडर र क्रान्तिकारी नेताका रुपमा दर्ज भएका कोइराला ०४६ सालअघि क्रान्तिकारी थिए ।

नेपाली राजनीतिमा कोइरालालाई चौथो आयाम भएको व्यक्तित्वका रुपमा लिने गरिन्छ । हक्की र छिटो निर्णय गर्न सक्ने स्वभावका कारण कोइरालाले नेपाली काङ्ग्रेसको नेतृत्व गरेका थिए भने चार पटकसम्म प्रधानमन्त्री पनि भए ।

जीवनको उत्तरार्धमा उनले कम्युनिष्टहरुसंग सहकार्य गरेर नेपालबाट राजतन्त्र फाल्न सफल भएका कोइराला सदा काङ्ग्रेसलाई पहिलो पार्टी बनाउने काममा निरन्तर रुपमा लागिरहे । जसको परिणाम स्वरुप काङ्ग्रेसले बहुमत पनि प्राप्त गरेको थियो ।

विपीको सिद्धान्त मान्दै र परिस्थिति हेरेर भत्काउँदै आएका गिरिजाबाबु जुनसुकै हालतमा काँग्रेस नै एक मात्र जनताको पार्टी भएको बताउँथे । १० वर्षे सशस्त्र जनयुद्धमा रहेको तत्कालिन माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भएको १२ बुँद्धे सम्झौता र दोस्रो जनआन्दोलनको नेतृत्व गिरिजाबाबुले नै गरे । ०४६ को जनआन्दोलनपछि नेपालका कम्युनिष्ट बिरोधी भनेर चिनिने गिरिजाप्रसादले २०६२ सालमा कम्युनिष्टसँग हातेमालो गरेर अघि बढे । युद्धकालमै माओवादीसँग राजतन्त्रविरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत उनको कडा आलोचना हुन पुगेको थियो ।