काफलडाँडाबाट ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताहरू गिरफ्तार

काफलडाँडाबाट ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताहरू गिरफ्तार


काभ्रेको रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा मङ्गलबार साँझ ‘सर्च’मा गएको प्रहरी टोलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरू पक्राउ गरेको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

महाशाखाका सूचना अधिकृत प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले मङ्गलबार साँझ साढे ६ बजे काफ्लडाँडामा प्रहरीसँग जम्काभेट हुँदा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरुबाट फायर भई आक्रमण गर्दा आत्मरक्षाका लागि प्रहरीले चार राउण्ड फायर गरेको र फायरपछि समूह भाग्ने क्रममा झापाको मेची नगरपालिका–३ घर भई हाल काठमाडौँको थानकोट झापा घर भई ढुङ्गेअड्डा बस्ने ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई गिरफ्तार गरिएको बुधबार जानकारी दिएका हुन् ।

गत फागुन १० गते बेलुका ललितपुरको नक्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट भई एकको मृत्यु तथा दुई जना घाइते भएको, सोही बेलुका काठमाडाँै कमलपोखरीस्थित आँगन मिठाई पसलमा भएको बम विस्फोट तथा गत फागुन २४ गते बेलुका काठमाडौँको वसुन्धरामा रहेको रोहन गुरुङको घरमा भएको बम विस्फोटमा परी तीन जना घाइते भएको घटनाको अनुसन्धानका क्रममा विप्लव नेतृत्वको पार्टीका कार्यकर्ताको संलग्नता भएको देखिएपछि काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ स्थित काफलडाँडामा लुकीछिपी बसेको सूचनाका आधारमा खोजतलासका क्रममा धिताल र तामाङलाई गिरफ्तार गरिएको महाशाखाले जनाएको छ ।

उता नेकपा सुत्रले भने दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राईलाई पनि सरकारले पक्राउ गरेको दाबी गरेको छ ।

एस्पी राठौरका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न कम्पनीको छ थान मोबाइल, चार थान चार्जर, ल्यापटप चार्जर, पिलास, कालो लेदर ब्याग र केही दस्तावेज तथा उनीहरुको साथबाटै अन्य तीन थान मोबाइल बरामद गरिएको छ ।

यसैगरी कपिलवस्तुबाट पनि विप्लव नेतृत्वको नेकपाका जिल्लास्तरका नेताहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक अच्युतमप्रसाद पुडासैनीका अनुसार जिल्लाबाट चार जना नेतालाई नियन्त्रणमा लिइएको हो । पक्राउ हुनेमा जिल्ला नेतामा बाणगङ्गा नगरपालिका श्यमदास पासी र राजमङ्गल थारू रहेका छन् ।

यस्तै शिवगढीबाट दुर्गालाल खत्री र कपिलवस्तुमा बसेर रुपन्देहीको राजनीति गर्ने युवराज न्यौपानले समेत पक्राउ परेका छन् । यी नेतालाई सरदरमुकाम तौलिहवासहित राजमार्ग क्षेत्रका इलाकाहरुमा राखिएको बताइएको छ ।