पृथकतावादी सोचको अवसान भएकै हो ?

पृथकतावादी सोचको अवसान भएकै हो ?


पृथकताको सोच त्यागेर मूलधारको राजनीतिमा आएको दाबी गरिएका सीके राउतको ‘स्वतन्त्र मधेस गठबन्धन’को आवरण फेरिएर अब यो ‘जनमत पार्टी’मा रूपान्तरित भएको छ । यसै सातारम्भमा सम्पन्न गठबन्धनको दुईदिवसीय राष्ट्रिय भेलाले सर्वसम्मत रूपमा सीकेलाई राष्ट्रिय अध्यक्ष चयन गरेको जानकारी गराएको छ । छिट्टै निर्वाचन आयोगमा दल दर्ता गरेर पार्टी सङ्गठन विस्तार कार्यलाई तीव्रता दिइने सीके समूहको धारणा सार्वजनिक भएको छ । सर्सर्ती हेर्दा यो असाधारण राजनीतिक–घटनाक्रम हो ।

मुलुक टुक्र्याएर स्वतन्त्र मधेस देश गठनको अभियानमा सँलग्नताका कारण चर्चित बनेका पात्रबाट चालिएको यो अप्रत्याशित कदमपछि सरकारी पक्षको अनुहारमा चमक छाएको अनुभूति गरिएको छ । मुलुकबाट पृथकतावादी विचार नै निमिट्यान्न भएको दाबी सरकारले जो गरेको थियो, त्यो व्यवहारतः सिद्ध भएको भावबाट सिर्जित ‘चमक’को हतियार अब आलोचक पक्षमाथि प्रहार गर्ने ‘मुड’मा देखिएका छन् सरकार वा ‘सीके–सरकार सहमति’ प्रकरणसँग जोडिएका पात्रहरू । तत्कालका घटनाक्रम नियाल्दा या सतही विश्लेषणका आधारमा भन्नुपर्दा सरकारी पक्षमा जागृत यो उत्साह अस्वाभाविक पनि ठहरिँदैन ।

‘मूलधारको राजनीति’मा आउन सीके तत्पर हुनुलाई ‘पृथकतावाद समाप्त भएको’ भनी व्याख्या गर्न सकिँदैन ।

तर, अत्यन्त गहन उद्देश्य एवम् रणनीतिक चालका साथ अघि बढेको ठानिएको रहस्यमयी समूहको कदमलाई यति सतही दृष्टिबाट नियालेर धारणा बनाउनु प्रत्युत्पादक मात्र होइन निकै घातक साबित हुन सक्छ । ब्वाँसोले भेडाको सिकार गर्दा कस्तो विधि अपनाउँछ भन्ने प्रचलित धारणा यहाँनेर मननीय छ ।
यो अनुमान गर्न कठिन छैन कि सरकारसँग रातारात सहमति गरेर तराई झरेका सीके राउतलाई आफ्ना कार्यकर्ता, समर्थक–शुभेच्छुकसामु प्रस्तुत हुने कार्य सहज थिएन । किनकि, स्वतन्त्र मधेस गठबन्धनको लक्ष्य–उद्देश्यलाई नै तिलाञ्जली दिएर सीकेले राज्यसमक्ष घुँडा टेकेको बुझाइ उनका समर्थकमा स्वभावतः पैदा भएको थियो ।

तर, यो अप्ठ्यारोलाई सीकेले सहजै चिरिदिएका छन् । गठबन्धनको केन्द्रीय भेलाले उनलाई सर्वसम्मत रूपमा राष्ट्रिय अध्यक्ष चुनेर अबिर–मालाले अभिनन्दन गर्दै अगाडिको जिम्मेवारी सुम्पिएपछि यस्तै अनुभूति गरिएको छ । तर, सीकेको उदयदेखिका उनका गतिविधिमाथि सूक्ष्म अध्ययन गर्नेहरूका निम्ति भने यी समस्त घटनाक्रम थप रहस्यमयी र चासोको विषय बन्न पुगेको छ ।

यहाँनेर यो पनि बुझ्नु आवश्यक छ कि गठबन्धनको केन्द्रीय बैठकमा विभिन्न जिल्लाबाट भेला भएका ‘स्वतन्त्र मधेस’ पक्षधर अभियानकर्ताहरूलाई निकै सावधानीपूर्वक बैठक कक्षमा प्रवेश गराइएको थियो, त्यो केका लागि ? र, गठबन्धनले उठाउँदै आएको ‘स्वतन्त्र मधेस’को मुद्दा जीवित छ कि छैन भनी प्रश्न उठाउने कार्यकर्ताहरूलाई सीकेले के जवाफ दिएर सन्तुष्ट तुल्याउन सके ? गठबन्धनको केन्द्रीय भेला समाप्तिपछि सार्वजनिक भएका समाचारअनुसार ‘गठबन्धनले मुद्दा बिसाएको होइन बरु अभियानको स्वरूप फेरिएको’ यथार्थ कार्यकर्तालाई बुझाउन सीकेलाई शुरुमा हम्मे–हम्मे परेको थियो । तर, उनले अभियानका क्रममा आफूले पाएको हण्डर र पीडाका सन्दर्भ झिकेर भावुकता प्रदर्शन गरेपछि उपस्थित कार्यकर्ताको पनि हृदय पग्लियो र सीकेका कुरा ध्यानका साथ सुन्दै विश्वास गर्न बाध्य भए । उनले जुनसुकै व्यवस्था वा अवस्था परिवर्तन गर्न पनि जनताको मत सर्वोपरी हुने तर्क गरे । जनताको मत–अभिमतबिनाको परिवर्तन अर्थहीन हुने बताएर उनले समर्थकहरूलाई ‘कन्भिन्स’ गरे । यसरी जनमत बटुल्न मधेसी जनतासमक्ष निर्धक्क र खुला रूपले जानका निम्ति नेपाल सरकारसँग सहमति आवश्यक रहेको पनि उनले खुलासा गरे र आफूहरूको निमित्त यो ठूलो उपलब्धि भएको बताए । यही ‘उपलब्धि’मा टेकेर जनतामा जाने अनि अभीष्ट पूरा गर्ने खुलस्त गरेपछि सीकेको समर्थनमा ताली बज्यो ।

स्वतन्त्र मधेसी गठबन्धनको नाम परिवर्तन गरी ‘जनमत पार्टी’ तय गरिनुको तात्पर्य पनि यहीँनेर महसुस गर्न सकिन्छ । लुकिछिपी त्रासमा गर्नुपर्ने काम अब खुला रूपले या सँवैधानिक आवरणमै सञ्चालन गर्न पाइने अवस्था सिर्जना भयो भन्ने बुझेका समर्थकले सर्वसम्मत रूपमा सीकेलाई अभियानका अगुवा मानेर भावी जिम्मेवारी सुम्पिनु स्वाभाविक सन्दर्भका रूपमा बुझ्न सकिन्छ ।

यस आधारमा भन्नुपर्दा नयाँ पार्टी दर्ता गरी सीके राउत खुला गतिविधि (सरकारी भनाइअनुसार ‘मूलधारको राजनीति’) गर्न तत्पर हुनुलाई ‘पृथकतावाद समाप्त भएको’ भनी एकाङ्की तवरले व्याख्या गर्न सकिँदैन । उनी साँच्चै आफ्नो दुर्उद्देश्य सदाका लागि परित्याग गरेर अखण्ड नेपालको पक्षपोषण गर्नेगरी राजनीतिक मूलधारमा आएका हुन् भनी प्रमाणित हुन उनका भावी गतिविधिको पर्याप्त एवम् सूक्ष्म अवलोकन अपरिहार्य छ । तर, सबैको अपेक्षा र कामनाचाहिँ यतिबेला यही नै हुनुपर्छ कि पृथकतावादी सोचबाट नेपाल सदाका निम्ति मुक्त रहोस् !