काठमाडौंसहित देशका पहाडी क्षेत्रमा हर्षोल्लासका साथ ‘फागु’ मनाईँदै

काठमाडौंसहित देशका पहाडी क्षेत्रमा हर्षोल्लासका साथ ‘फागु’ मनाईँदै


यसबर्ष काठमाडौं उपत्यकासहित देशका पहाडी क्षेत्रमा होली अर्थात ‘फागु पर्व’ धुमधामका साथ मनाइँदै छ । वसन्त ऋतुको आगमनसँगै यो पर्व एक आपसमा मैत्री भाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रंग दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलीका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ । यसैलाई आधार बनाएर हरेक बर्ष ‘फागु’ पर्व मनाउने चलन छ ।

आज काठमाडौँको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ । असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास छ । नेपालका पहाडी क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने चलन छ ।

इच्छा विपरित रङ दल्न नपाइने

‘फागु’ पर्वमा कसैको इच्छा विपरित रङ दल्न नपाइने भएको छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरित रङ र लोला हान्ने क्रम कम हुँदै गएको छ । यर्सलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसरले विशेष सुरक्षा योजना लागु गरेको छ । बेलुनमा पानी भरेर जथाभावी हान्ने, बटुवालाई फोहर पानी छ्याप्ने, जबरर्जस्ती रङ दल्नेलगायत उच्छृङ्खल गतिविधिविरुद्ध विशेष सुरक्षा योजना लागू गरिएको हो ।

जिल्ला सुरक्षा समितिको बैठकले पनि होली पर्वलाई लक्षित गरेर यस्तो सुरक्षा योजना पारित गरेसँगै प्रहरीले सोही अनुरुप तयारी गरेको जनाएको छ ।

कसैको इच्छाविपरित रंग दलेको खण्डमा वा लोला हानेको अवस्थामा प्रहरी कन्ट्रोल १०० मा तुरुन्त खबर गर्न पनि सर्वसाधारणलाई प्रहरीले आग्रह गरेको छ ।