सीकेले दिए अर्को चक्मा !

सीकेले दिए अर्को चक्मा !


पृथकतावादी ‘लाइन’ छोड्ने चक्मा दिएर काराबासमुक्त हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्झौता गरी तराई पुगेका सीके राउतले सिरहामा फेरि अर्को चक्मा दिएका छन् । उनको समूहको राष्ट्रिय परिषद् बैठकको आरम्भमा पञ्चकन्याहरूद्वारा राष्ट्रिय गान प्रस्तुत गराएका सीकेले ‘जनमत’ नाममा पार्टी गठन गरेर विधिवत् राजनीतिमा सक्रिय रहने भन्दै सरकार र आमनेपाली नागरिकलाई भुलभुलैयामा राख्ने प्रयास गरेका छन् ।

जनमतसङ्ग्रहद्वारा तराई टुक्र्याउने निर्णय लिन बाध्य पार्ने उद्देश्यबाट अगाडि आएका राउतले पार्टीको नाम नै ‘रणनीतिक’ उद्देश्य प्रेरित राखेका छन् । परिषद् बैठकले पार्टीको दश लाख सदस्य पुगेपछि जनमतसङ्ग्रह गरिने निर्णय लिएको छ । र, अब सिकेको पार्टीले तराईमा सदस्यता वितरण अभियानलाई व्यापक रूपमा सञ्चालन गर्ने भएको छ । सिरहामा गत आइतबार (चैत ३ गते) शुरु गरिएको परिषद् बैठकमा पञ्चकन्याहरूलाई अघि सारेर उनले राष्ट्रिय गीत गाउन लगाएका थिए । त्यसरी राष्ट्रिय गान प्रस्तुत भइरहँदा सीकेसहित उनका मानिसहरू उठ्दै नउठी सोफामा आरामले बसिरहेका थिए ।

राष्ट्रिय गान गाउँदा संसारभरि उभिने चलन भएकोबारे सीके अनभिज्ञ छैनन्, तर उनले उठ्न आवश्यक ठानेनन् । सीकेले सरकार र नेपाली जनतालाई झुक्याउनका निम्ति मात्रै राष्ट्रिय गान प्रस्तुत गरेर देखाइदिएको, तर राष्ट्रिय गानप्रति सम्मान प्रकट गर्ने कुनै व्यवहार नगरेको प्रत्यक्षदर्शीहरूले ठानेका छन् । राष्ट्रिय गान प्रस्तुत गरेर परिषद्को बैठक शुरु गरिएको भए पनि बैठकमा सीकेले मधेसमा स्वराज हुनुपर्ने र जनमतसङ्ग्रहबाट विषयको टुङ्गो लगाउनुपर्ने पहिलेदेखिकै धारणा भने प्रकट गरेका छन् । सीकेको सोच नभई रणनीति मात्र परिवर्तन भएको उनको अभिव्यक्ति, कार्यशैली र व्यवहारले देखाएको छ । पार्टीको नामबाटै उद्देश्य स्पष्ट गर्ने गरी ‘जनमत पार्टी’ गठन गरेर वैधानिक राजनीतिमा सरिक हुनु झट्ट हेर्दा स्वागतयोग्य भए पनि कालान्तरमा उनी आफ्नो उद्देश्य पूरा गर्न नै लागिपर्ने सम्भावना जीवित रहेको छ ।

सीके राउतले शुरुदेखि नै विखण्डन र जनमतसङ्ग्रहको मुद्दा उठाउँदै आएका हुन् । मजबुत सङ्गठनबिना अभियान सफल नहुने सीकेले त्यसबेला बुझे जब पाँच महिनासम्म थुनामा पर्दा पनि तराईमा उनको रिहाइका निम्ति कसैले कुनै दबाबमूलक कार्यक्रमको आयोजना गरेन । यही यथार्थलाई आत्मसात् गरी सीके राउतले सङ्गठन निर्माण एवम् विस्तार गर्न वैधानिक प्रक्रिया अवलम्बन गरेका हुन् । उनको रणनीतिक चालबाजीलाई सोच र उद्देश्यमै परिवर्तन आएको ठान्नु नेपाल र नेपालीका निम्ति कालान्तरमा दुर्भाग्य साबित हुने देखिएको छ ।