भागबन्डामा बन्यो कांग्रेसको समिति

भागबन्डामा बन्यो कांग्रेसको समिति


नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकले भीष्मराज आङ्देम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ । सोमबार आङ्देम्बेको संयोजकत्वमा गठित समितिलाई आज (मंगलबार)को वैठकले पूर्णता दिएको हो । समितिको सदस्यमा उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेका छन् ।

व्यक्तिगत रूपमा भद्र र शालीन मानिने भीष्मराजमाथि गत संसदीय निर्वाचनमा अन्तर्घात गरेको आरोप भने लागेको छ । पाँचथरमा प्रतिनिधिसभा सदस्य रहेका भीष्मले माओवादीसँग गुप्त साँठगाँठ गरी प्रदेश सभामा पार्टीका उम्मेदवार सुरेन्द्र दाहाललाई पराजित गर्न भूमिका निर्वाह गरेको बताइन्छ । प्रतिनिधिसभामा माओवादीले आफूलाई सहयोग गर्ने र प्रदेश सभामा आफ्नो सहयोग माओवादीलाई गर्ने गरी साँठगाँठ गरेको भनी सुरेन्द्र दाहालले पार्टीलाई जानकारी गराएका छन् ।

त्यसैगरी किशोरसिंह राठौर र देवेन्द्रराज कँडेलमाथि पनि अन्तर्घातको आरोप छ । जसमाथि जे–जस्ता आरोप भए पनि असहमत पक्षको चर्काे विरोधका बाबजुद सभापति शेरबहादुर देउवाले समितिका पाँचमध्ये संयोजकसहित तीनजनाको नाम गत सोमबार (चैत ४ गते)कै बैठकबाट पारित गराएका थिए भने बाँकीको नाम मंगलबार टुंगो लगाइएको हो ।

यसरी, केही सातादेखि नै विवादको विषय बनेको अनुशासन समिति गठनले मंगलबार पूर्णता पाएको छ । समितिमा परिपक्व, वरिष्ठ र निष्पक्ष भूमिका निर्वाह गर्न सक्ने व्यक्ति चयन हुनुपर्छ भन्ने असहमत पक्षको आग्रह र दबाबलाई देउवाले नसुने पनि ‘अनुशासन समितिको सर्वसम्मत निर्णय मात्र कार्यान्वयनमा आउन सक्ने’ व्यवस्था गर्न उनी बाध्य भएका छन् । संयोजकसहित तीनजना देउवा पक्षको र दुईजना असहमत पक्षबाट चयन भए पनि अनुशासन समितिमा सर्वसम्मति नभई कुनै निर्णय हुन सक्नेछैन । कदाचित बहुमतका आधारमा निर्णय गरियो भने पनि उक्त निर्णय कार्यान्वयन हुन नसक्ने भएको छ ।

मंगलबार (चैत ५ गते) को बैठकले अनुशासन समितिलाई पूर्णता दिनुका अलावा पार्टीको १४औँ महाधिवेशन सम्पन्न गर्न निर्वाचन समिति पनि गठन गरेको छ । समितिको संयोजकमा राधेश्याम अधिकारी, हरिहर दाहाल र यदु खनालको नाम छलफलमा आएको थियो । धेरैले राधेश्याम अधिकारीको नाम लिए पनि अहिलेसम्म मौका नपाएको भन्दै हरिहर दाहाललाई संयोजक बनाउनु उचित हुने धारणा राखेका थिए । अन्ततः राधेश्याम अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको हो । निर्वाचन समितिको सदस्यमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल रहेका छन् ।

मंगलबारको बैठकमा बाउन्न जिल्लाका सभापतिहरूले गत महिना दिएको संयुक्त निवेदनको विषयमा पनि छलफल भएको थियो । सभापतिहरूले गत पुसमा सम्पन्न महासमिति बैठकको भावना र निर्णयबमोजिम केन्द्रीय कार्यसमितिले निर्णय लिन माग गरेका छन् ।