निम्तापत्र नपाए पनि अमेरिका पुगे प्रचण्ड

निम्तापत्र नपाए पनि अमेरिका पुगे प्रचण्ड


आफूलाई नेपालको नम्बर एक क्रान्तिकारी र साम्राज्यवादविरोधी भएको दाबी गर्ने माओवादी नेता प्रचण्ड देशवासी सबैलाई चकित पार्दै यो साता (चैत ३ गते) अमेरिका भ्रमणमा निस्किए । भेनेजुएला प्रकरणमा अमेरिकाविरुद्ध वक्तव्य दिएपछि प्रचण्ड र अमेरिकाबीचको सम्बन्ध नराम्रोसँग चिसिने अनुमान गरिएको थियो । तर, उक्त घटनापछि अपेक्षा र अनुमानविपरीत अमेरिकासँग प्रचण्डको सम्बन्ध ‘नयाँ उचाइमा पुगेको’ देखिएको छ । अष्ट्रेलियाको भ्रमण गर्न डराएका प्रचण्ड वक्तव्य प्रकरणपछि नडराईकन अमेरिका भ्रमणमा जान सक्ने भएका छन् । त्यसैले भेनेजुएला प्रकरणमा प्रचण्डले दिएको वक्तव्य अमेरिकासँग बार्गेनिङ मात्र रहेछ भन्ने टीकाटिप्पणी यहाँ हुन थालेको छ ।

प्रचण्ड र अमेरिका दुवैले दुवैप्रति विश्वासपूर्ण व्यवहार गर्न अहिलेसम्म नसकेको ठानिन्छ । जानकारीअनुसार अमेरिका प्रचण्डलाई एउटा र सम्भवतः अन्तिम मौका दिने सोचमा रहेको छ । प्रचण्डचाहिँ अमेरिकाको समेत विश्वास र साथ प्राप्त गरेर नेपालभित्र ‘बलियो’ तथा सुरक्षित बन्न चाहन्छन् । तर, दुवैले एक–अर्कालाई उपयोग मात्र गर्ने योजना बनाएको हुनाले दुवैतर्फबाट विश्वासयोग्य व्यवहारमा भने कञ्जुस्याइँ भएको छ । निजी भ्रमणमा जान लागेका प्रचण्डले अमेरिकाबाट औपचारिक निमन्त्रणाको चाहना राखेका थिए, तर आइतबार (चैत ३ गते) सम्म अमेरिकाबाट कुनै निम्तापत्र उनलाई उपलब्ध गराइएको थिएन ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने इच्छा प्रचण्डले अमेरिकी कूटनयिकहरूसँग प्रकट गरेका थिए । तर, उनले दक्षिण एसियाली मामला हेर्ने सचिवसँग मात्र भेट गर्न पाउने निश्चित भएको छ । सचिवसँगको कुराकानीका क्रममा प्रचण्डबाट ‘सकारात्मक’ धारणा प्रकट भएमा उपराष्ट्रपतिसँग पनि प्रचण्डलाई भेट गराइने बुझिएको छ । सचिवसँगको वार्तालाप ‘उपयोगी’ भयो भने प्रचण्डले उपराष्ट्रपतिसँग छलफल र राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोटो खिचाउने अवसरसम्म पाउन सक्ने एक सूत्रले जनाएको छ । कदाचित सचिवसँगको संवाद निरर्थक रह्यो भने प्रचण्डको भेटवार्ता त्यहीँ विराम लाग्नेछ र उनलाई उपराष्ट्रपतिले भेट गर्ने र राष्ट्रपतिले सँगै तस्बिर लिने अवसर उपलब्ध नगराइने निश्चित छ ।

प्रचण्ड र अमेरिकाबीचको सम्बन्ध ‘फलदायी’ तुल्याउन एनजीओकर्मीका रूपमा चिनिएका अमेरिकास्थित ‘कम्युनिस्ट’ राजदूत अर्जुन कार्की विशेष रूपमा सक्रिय रहेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । प्रचण्डपत्नी सीतालाई राम्रो अस्पतालमा उपचार गराउने र प्रचण्डलाई चेकअप गराउनेदेखि प्रचण्डको भ्रमणलाई दुवै पक्षको निम्ति ‘फलदायी’ बनाउनसमेत राजदूत कार्की सक्रियतापूर्वक लागिपरेको वासिङ्गटनस्थित एक सूत्रले घटना र विचारलाई जानकारी दिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले भन्दा अमेरिकास्थित नेपाली दूतावास प्रचण्डको भ्रमणलाई ‘उपयोगी’ बनाउन ज्यादा सक्रिय रहेको पाइएको छ । अर्जुन कार्कीले सकेसम्म राष्ट्रपति ट्रम्पसँग नै भेट गराइदिने र त्यो सम्भव नभए पनि उपराष्ट्रपतिसँग भेटवार्ता गराइदिने वचन प्रचण्डलाई दिएका छन् । ज्ञातव्य छ, अर्जुन कार्की नेपाल सरकारद्वारा नियुक्त राजदूत भए पनि उनी नेपालभन्दा ‘उतै’को हितप्रति ज्यादा संवेदनशील रहने गरेको महसुस अमेरिकामा बसोवास गर्ने नेपालीले गर्दै आएका छन् । प्रचण्डलाई अमेरिका पुऱ्याउनमा पनि कार्कीकै मुख्य भूमिका रहेकोले ‘आफ्नो मिसन’मा कार्की कति सफल सिद्ध हुन सक्नेहुन् त्यसको प्रतीक्षा नेपाल र अमेरिका दुवै मुलुकमा भइरहेको छ ।

यो पनि हेर्नुहोस्-

प्रचण्डविरुद्ध अदालत जाने तयारी
https://ghatanarabichar.com/142312