माओवादीपीडित भन्छन्- ‘यो देशमा सरकार पनि छ र ?’

माओवादीपीडित भन्छन्- ‘यो देशमा सरकार पनि छ र ?’


‘बेलुका अफिसबाट म घर फर्कंदै थिएँ । साँझ पनि पर्न पाएको थिएन । अचानक बाटोमा मलाई आठ–नौजना केटाले घेर्न थाले । उनीहरूको घेराबाट फुत्कन नपाउँदै एक्कासि मेरो आँखा र मुख थुनेर पिट्न थाले । म कराउन पनि सकिनँ, उनीहरूलाई चिन्न पनि सकिनँ । उनीहरूसँग फलामको डन्डा रहेछ । त्यसले ढाडमा, टाउकोमा, पाखुरामा, घुँडामा जतासुकै पिट्न थाले । म त्यहीँ ढलेँ । त्यसपछि के–के भयो मलाई नै थाहा छैन ।’

कास्की जिल्लाको लेखनाथ नगरपालिकाअन्तर्गत अर्घौँअर्चले घर भएका शत्रुघ्नमणि लामिछानेको दर्दनाक वेदना हो यो । उहाँ माओवादीको आक्रमणबाट झन्डैझन्डै मृत्युको मुखमा पुग्नुभएको थियो । माओवादी ठिटाहरूले उहाँलाई बेहोस हुनेगरी पिटेपछि ‘अब त मऱ्यो’ भनेर बाटैमा फ्याँकिदिए र उनीहरू माओवाद जिन्दावादको नारा लगाउँदै वनतिर पसे । बाटो हिँड्नेहरूले उहाँलाई घर पुऱ्याए । उहाँ उठ्न पनि सक्नुभएन, बस्न पनि सक्नुभएन । तत्काल गाउँले दाजुभाइ मिलेर पोखरा अस्पताल पुऱ्याए । पोखरा अस्पतालले उपचार गर्न नसक्ने जानकारी गराएपछि काठमाडौं ल्याइयो । हाल उहाँ ललितपुरको सातदोबाटोनजिकैको बी एण्ड बी नर्सिङहोममा उपचार गराइरहनुभएको छ । यो घटना थियो गत फागुन २१ गते बिहीबारको ।

कास्की जिल्लालाई खासै माओवादी प्रभावित जिल्ला मानिँदैन । तर, यस्ता हत्या, हिंसा र कुटपिटका घटना कास्कीमा बारम्बार दोहोरिने गरेको छ । माओवादीको आक्रमणबाट अझ सोझासाझा नागरिक नै बढ्ता पीडित हुनुपरेको छ । शत्रुघ्नमणि लामिछाने पेसाले कर्मचारी हुनुहुन्छ । उहाँ राष्ट्रिय वाणिज्य बैंक रोखरामा सहायकस्तरको कर्मचारीका रूपमा जागिर खाइरहनुभएको छ । यसरी एउटा सामान्यस्तरको कर्मचारीमाथि माओवादीले किन आक्रमणको तारो बनाए बुझिनसक्नु छ । ‘कतै तपाईंसँग पैसा भएकोले उनीहरूले आक्रमण गरेका त होइनन्’ भनी प्रश्न गर्दा उहाँ भन्नुहुन्छ, ‘गोजीमा सय–दुई सय, हजार रुपैयाँ हुनु त सामान्य नै हो नि । नत्र खासै धेरै पैसा थिएन । फेरि उनीहरूले मलाई आक्रमण त गरे, तर पैसा एक रुपैयाँ पनि चलाएनन् ।’

आखिर आक्रमणको कारण के थियो त ? भनी प्रश्न गर्दा उहाँ भन्नुहुन्छ, ‘छिमेकमा आएर माओवादीहरू लुकेर बस्ने गरेका थिए । पहिला त त्यति वास्ता पनि गरिएन । पछि उनीहरूले गाउँमा चन्दा उठाएर हिँडे । सबैको घरमा मागेछन् । तर, मेरो घरमा मागेनन् । मागेकै भए पनि म दिँदैनथेँ । त्यसको दुई–चार दिनपछि त यस्तो घटना हुनपुग्यो ।’ उहाँका छिमेकीका अनुसार माओवादीले गत स्थानीय निर्वाचनदेखि नै शत्रुघ्नमणिलाई दुश्मन ठान्दै आएका थिए । गत स्थानीय चुनावमा काङ्ग्रेसको उम्मेदवारलाई वडाध्यक्षमा जिताउन उहाँले ठूलो परिश्रम गर्नुभएको थियो । त्यसको बदला लिने दाउ विरोधीहरूले खोजिरहेका थिए । यसबारे लामिछाने अगाडि भन्नुहुन्छ, ‘२०४८–४९ सालको त्यति ठूलो लहरमा पनि काङ्ग्रेसले स्थानीय चुनावमा हारेको ठाउँ हो त्यो । अब यसपालि त हामीले झन् कति परिश्रम गऱ्यौं होला तपाईं आफैँ कल्पना गर्नुस् । अब विरोधीहरूले चुनाव जित्नै नहुने भन्ने नियम कहाँ छ ? उनीहरूले त्यही नियम खोजे । अनि मलाई आक्रमणको तारो बनाए ।’

हाल उहाँको उपचार अत्यन्त जटिल प्रक्रियाबाट भइरहेको छ । दाहिने खुट्टा दुई ठाउँमा भाँचिएको छ, पाखुरा पनि भाँचिएकोले दाहिने हर राम्रोसँग चलाउन पनि मिल्दैन । डाक्टरका अनुसार उहाँको हातखुट्टा अत्यन्तै जटिल रूपमा भाँचिएकोले स्टिलका पाताद्वारा जोडिएको छ ।

लामिछाने अस्पतालमा भर्ना भएपछि जिल्लाका धेरै साथीभाइ, शुभचिन्तक तथा नेताहरूले भेट गर्न आउने गरेका छन् । यसैक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री तारानाथ रानाभाट पनि उहाँलाई भेट गर्न जानुभयो । उहाँले आक्रमणकारीहरूलाई कारबाही गरेरै छाड्ने वचन पनि दिनुभयो । तर, लामिछानेले उक्त आश्वासनलाई पत्याउन पनि सक्नुभएको छैन । उहाँ भन्नुहुन्छ, ‘माओवादीहरूलाई पुलिसले देख्दादेख्दै पनि पक्राउ गर्न सकेको छैन । फेरि त्यहाँ पनि नातावाद चलिहाल्छ । नेताका दाजुभाइ, नातेदार रहेछन् भने आज थुन्यो भोलि नै छुट्छन् । हामी सर्वसाधारण भने पिटाइ खानु र मारिनुसिवाय अरू केही छैन । यो देशमा त सरकार पनि छैन कि जस्तो लाग्न थालेको छ ।’

अहिले लेखनाथ अर्घौभरि सर्वसाधारण नागरिक त्रासदीपूर्ण जीवन बिताइराखेको कुरा लामिछानेलाई भेट्न आउनेहरू बताउँछन् । उनीहरूको भनाइ छ, ‘सरकारले कत्ति पनि शान्तिसुरक्षाको वातावरण कायम गर्न सकेन । हामी आफ्नो घरमा बस्न पनि डरमर्ने भइसक्यो । कुन दिन आएर आक्रमण गर्ने हुन्, के ठेगान ? नजिस्क्याईकन त वनको बाघभालुले पनि आक्रमण गर्दैन । तर, मान्छे नै किन बाघभालुभन्दा पनि डरलाग्दा भए हामीले त बुझ्नै सकेका छैनौँ ।’

काठमाडौंका महँगा नर्सिङहोमहरू छोइसक्नु छैनन् । उपचारको खर्चबारे जिज्ञासा राख्दा उहाँको भनाइ यस्तो थियो, ‘पैसा त लाख रुपैयाँ लाग्लाजस्तो छ । पैसा जति लागे पनि उपचार राम्रो भइदिए हुने थियो ।’

(२०५४ साल चैत १२ गते बुधबार, घटना र विचार साप्ताहिक)