स्थापना दिवस मनाउँदै पत्रकार महासङ्घ

स्थापना दिवस मनाउँदै पत्रकार महासङ्घ


यही चैत १६ गते नेपाल पत्रकार महासङ्घले ६४औँ स्थापना दिवस विविध मौलिक तथा रचनात्मक कार्यक्रम गरी मनाउन देशभित्र र बाहिरका सबै प्रदेश, शाखा र एशोसिएट समितिलाई निर्देश गरेको छ ।

सो अवसरमा महासङ्घका पूर्व पदाधिकारी सम्मान, शाखा सम्मान, जोखिम, सङ्कट तथा कठिन अवस्थाको रिपोर्टिङ अनुभवको प्रस्तुतीकरण प्रतियोगिता, पूर्व अध्यक्ष तथा सभापतिहरुसँग अन्तरसंवाद, मैत्रीपूर्ण फूटसल प्रतियोगिता तथा निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम गर्ने निर्णय भएको महासचिव रमेश विष्टले जानकारी दिए ।

महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले गत फागुन ९ र १० गते कास्कीको पोखरामा आयोजित केन्द्रीय साधारणसभाका निर्णय, निर्देशन तथा विशेष प्रस्ताव कार्यान्वयनका लागि विस्तृत कार्ययोजना बनाइ आवश्यक पहल गर्ने निर्णय पनि गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले आगामी मे २ र ३ तारिखमा मनाउने राष्ट्रिय प्रेस स्वतन्त्रता सम्मेलनमा महासङ्घका सबै पूर्वअध्यक्ष तथा सभापति, महासङ्घले हालसम्म घोषणा गरेका प्रेस स्वतन्त्रता सेनानी तथा सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । सो अवसरमा सबै प्रेस स्वतन्त्रता सेनानीलाई परिचयपत्र र प्रतीक चिह्न प्रदान गरिनुका साथै प्रेस स्वतन्त्रता सेनानी सम्मानसमेत गरिनेभएको छ ।