विश्व कराते च्याम्पियनसिपमा दिगम्बरलाई रजत

विश्व कराते च्याम्पियनसिपमा दिगम्बरलाई रजत


नवौँ सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालले ऐतिहासिक पदक जितेको छ । नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका हुन् । फाइनलमा काजकिस्तानका खेलाडी तसिम अदिलसँग ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट वञ्चित भएका थिए । यद्यपि नेपालले सितोरियाको विश्व च्याम्पियनसिपमा जितेको यो नै ठूलो पदक हो । यसअघि दिगम्बरले क्वार्टरफाइनलमा भेनेजुएलाका खेलाडीमाथि ८–० को जित निकालेर सेमिफाइनलमा पुगेका थिए । सेमिफाइनलमा उनले मेक्सिकोमाथि १–० को जित निकालेर फाइनलमा स्थान बनाएर पदक पक्का गरेका थिए ।

यता ६० केजी मुनि तौल समूहमा विजय श्रेष्ठले कास्य पदक जितेका छन् । उनले कास्य पदकका लागि भएको भिडन्तमा आइभोरीकोस्टका खेलाडी काउबाली अब्दुलयीलाई ७–० ले पराजित गरेका थिए । त्यसअघि उनले प्रिक्वार्टरफाइनलमा चीनका खेलाडीमाथि ४–२ को जित निकालेका थिए । यस्तै क्वार्टरफाइनलमा हङकङका खेलाडीसँग २–२ को अङ्क बराबरी भए पनि विजयले सेन्सु विजेता बनेर सेमिफाइनलमा स्थान पक्का गरेका थिए । सेमिफाइनलमा भने उनी काजकिस्तानका खेलाडीसँग ४–० ले पराजित भएका थिए ।

नेपालले १७ वर्षपछि सितोरियोको विश्व च्याम्पियनसिपमा पदक जितेको हो । यसअघि नेपालले सन् २००२ मा टिम फाइटमा कांस्य जितेको थियो । यसअघि व्यक्तिगत कातामा नेपालका परशुराम बास्तोला क्वार्टरफाइनलमा मेक्सिकोका खेलाडीसँग ४–१ ले पराजित भएका थिए । यस्तै गणेशबहादुर थिङ पनि सफल हुन सकेनन् । ६७ केजी तौलमा नेपालका अनिश लामा पहिलो खेलमै पराजित भएका थिए ।

नेपाली टिमको प्रशिक्षकमा सागका स्वर्ण विजेता कुशल श्रेष्ठ तथा सितोरियो कराते सङ्घका अध्यक्ष दावा गुरुङ हेड अफ डेलिगेड्सको रूपमा जापान गएका थिए । जापानमा भएको प्रतियोगितामा सहभागी नेपाली खेलाडीलाई एनआरएनए ग्लोबल र जापान च्याप्टरले सहयोग गरेका थिए । प्रतियोगितामा ३९ देशका करिब १ हजार २ सय खेलाडीले सहभागिता जनाएका थिए ।

सितोरियो विश्व च्याम्पियनसिपमा ऐतिहासिक पदक जितेपछि प्रशिक्षक श्रेष्ठले नेपाली खेलाडी सितोरियो करातेमा राम्रो भएको सन्देश गएको बताए । उनले भाग लिएका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए । भाग लिएका ५ खेलाडीमध्ये दुईजनाले मेडल जित्नु उत्कृष्ट नतिजा हो– श्रेष्ठले भने– त्यस्तै प्रतियोगितामा भाग लिइरहने हो भने हामीले आउँदै गरेको साग गेम्स र ओलम्पिकमा राम्रो गर्न सक्छौँ । सन् २०२० मा जापानमै हुने ओलम्पिक्समा पहिलोपटक करातेमा प्रतिस्पर्धा हुँदै छ ।