अजितले जिते एसियाली युथमा ऐतिहासिक स्वर्ण

अजितले जिते एसियाली युथमा ऐतिहासिक स्वर्ण


नेपालका अजितकुमार यादवले हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष तीन हजार मिटर दौडमा स्वर्ण जितेको एथलेटिक्स मुख्य प्रशिक्षक विक्रमजंग थापाले जनाएका छन् । उनीसहित १२ राष्ट्रका १५ खेलाडी उक्त स्पर्धामा दौडेका थिए ।

सप्तरीको राजविराजनिवासी अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरे । यो समयसँगै अजितले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमान पनि सुधार गरेका छन् । यसै वर्ष राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको केन्द्रीय विद्यालयस्तरीय राष्ट्रपति रनिङ सिल्डमा अजितले ८ मिनेट ४४.९ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान बनाएका थिए । सिनियर भने यो कीर्तिमान ज्ञानबहादुर बोहराको नाममा छ । उनले १९९९ मा भारतको नयाँदिल्लीमा भएको एथलेटिक्स च्याम्पियनसिपमा ८ मिनेट २३.५९ सेकेन्डको कीर्तिमान रचेका थिए ।

युथ एथलेटिक्समा नेपालबाट अजित एक्लो सहभागी खेलाडी हुन् । अजितबाहेक उक्त स्पर्धामा भारत, यमन र आयोजक हङकङबाट २–२ तथा जापान, कोरिया, ओमन, इरान, काजकिस्तान, इन्डोनेसिया, जोर्डन र भुटानबाट १–१ खेलाडीले सहभागिता जनाएका थिए । ८ मिनेट ३६ः३४ सेकेन्डमा भारतका अमित जान्गिर दोस्रो तथा ८ मिनेट ३८ः६० सेकेन्डमा यमनका गमिल अल हमाटी तेस्रो स्थानमा रहे ।

कुनै पनि एसियाली स्तरको एथलेटिक्समा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो । समग्रमा भने दोस्रोपदक हो । ४५ वर्षअघि (१९७३) फिलिपिन्सको मनिलामा भएको एसियाली ट्र्याक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।

प्रशिक्षकका रूपमा धनीराम चौधरी अजितसँगै हङकङ गएका थिए । चौधरीकै नाममा २३ वर्षसम्म ८ सय मिटर दौडमा १ मिनेट ५०ः६० सेकेन्डको राष्ट्रिय कीर्तिमान स्थापित थियो । गत भदौमा इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदमा सोमबहादुर कुमालले १ मिनेट ५०ः२५ सेकेन्डमा ८ सय मिटर दौड पूरा गर्दै चौधरीको कीर्तिमान भंग गरेका थिए ।