इलाइट बक्सिङमा आर्मीका विमला, पुनम र आशीष छनोट

इलाइट बक्सिङमा आर्मीका विमला, पुनम र आशीष छनोट


नेपाल आर्मीका चार खेलाडी विमला श्रेष्ठ, पुनम रावल, आशीष दवाडी र सुशील थापाले एएसबीसी इलाइट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको छ ।

हालै सम्पन्न छनोट खेलमा महिलातर्फको ५१ केजी तौल समूहमा आर्मीकी विमला श्रेष्ठले एपीएफकी माला राईलाई ४–१ ले अङ्कका आधारमा पराजित गरिन् । महिला ६० केजी तौल समूहमा आर्मीकी पुनम रावलले एपीएफकी सङ्गीता सुनारलाई ४–१ ले अङ्कका आधारमा हराउँदै छनोट भइन् ।

राष्ट्रिय खेलकुद परिषद्को सेमिकभर्डहलमा भएको ९१ केजीमाथिको तौल समूहमा आर्मीकै आशीष दवाडीले गण्डकी प्रदेशका कुशल रानालाई ३५ सेकेन्डमै नकआउट पन्च हान्दै छनोट भए । त्यस्तै ४९ केजी तौल समूहको छनोट खेलमा आर्मीका सुशील थापाले प्रदेश ३ का मदन डङ्गोललाई ५–० ले अङ्कका आधारमा हराउँदै छनोट भएका थिए ।

थाइल्यान्ड बक्सिङ सङ्घको आयोजनामा अप्रिल १६ देखि २६ सम्म बैंककमा सञ्चालन हुने प्रतियोगिताका लागि छनोटमा परेका खेलाडीलाई नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले हौसला प्रदान गर्दै भने– राज्यको नेतृत्व गर्ने अवसर पाउनुभएको छ, कडा मिहिनेत गरेर आफूलाई तयारी बनाउनुहोला । तपाईंहरूको प्रशिक्षणका लागि नेपाल बक्सिङ सङ्घले आवश्यक सहयोग गर्नेछ ।