माथिल्लो तामाकोशीको भौतिक प्रगतिमा गुणात्मक प्रगति

माथिल्लो तामाकोशीको भौतिक प्रगतिमा गुणात्मक प्रगति


सरकारको सार्थक प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको भौतिक प्रगतिमा गुणात्मक प्रगति देखिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको भौतिक प्रगति करीब ९८ प्रतिशत हुनपुगेको छ । पछिल्लो समयमा आयोजनाको भौतिक प्रगतिमा निर्माण व्यवसायीका कारण उल्झन देखिएपछि मन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरण, आयोजना प्रमुख तथा निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधानको कार्ययोजनासहित प्रस्तुत हुन निर्देशन दिएका थिए ।

सोही निर्देशनानुसार आयोजनाका दुई ठाडो सुरुङ निर्माणका लागि अष्ट्रियाको एन्ड्रिज हाइड्रो र भारतीय कम्पनी टेक्सम्याकोले मिलेर काम गरेका छन् । हाल ठाडो सुरुङमा स्टिलको पातासहितको पाइप राख्ने काम धमाधम अगाडि बढिरहेको छ । आगामी कात्तिक मसान्तसम्म सो आयोजनाको निर्माण सक्ने गरी काम भइरहेको छ ।

‘भर्टिकल पेनस्टक सार्प’ मा स्टिल लाइनिङ गर्ने कार्यमा ढिलाइ भएपछि सो कार्य गर्न एन्ड्रिज हाइड्रोमार्फत व्यवस्थापन गरिएको मन्त्री पुनको भनाइ छ । आयोजनामा देखिएको समस्या समाधानका लागि गरिएको पहल सार्थक हुँदै गएको जानकारी दिँदै मन्त्री पुनले माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने बताए । आयोजना पूर्णतः स्वदेशी लगानीमा निर्माण भइरहेको छ ।