चौथो विवाहको तयारीमा जेनिफर

चौथो विवाहको तयारीमा जेनिफर


हलिउडकी ‘हट’ एक्ट्रेस तथा विश्वविख्यात अमेरिकी पप सिङ्गर जेनिफर लोपेज उमेरको हिसाबले यतिबेला पचास पुग्दै छिन् । ‘पर्फेक्ट फिगर’का कारण सदाबहार चर्चामा रहेकी उनी प्रेम र विवाहको मामलामा पनि निकै चर्चा कमाएकी कलाकार हुन् । ४९ वर्षीया लोपेजले चौथो विवाहको तयारी गरेपछि उनको चर्चा पुनः चुलिएको छ । यसअघिका तीनवटा विवाह असफल भए पनि उनका दुई सन्तान छन् ।

जेनिफरले हालै अमेरिकाका पूर्वबेसबल खेलाडी एलेक्स रोड्रिगेजसँग स्वयम्बर गरेकी छिन् । जेनिफर र रोड्रिगेजबीच औँठी साटासाट भएको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल हुन पुगेको छ । ४३ वर्षका रोड्रिगेज र ४९ वर्षीया लोपेजबीच लामो समयदेखि ‘डेटिङ’ चलिरहेको थियो । उमेरले जेनिफर ६ वर्ष जेठी भए पनि रोड्रिगेज र उनीबीच अत्यन्त कसिलो सम्बन्ध रहँदै आएको बताइन्छ ।

जेनिफर र रोड्रिगेज दुवैका निम्ति प्रेम र विवाह कुनै नौलो विषय होइन, किनकि दुवै ‘डिभोर्सी’ नै हुन् । लोपेजको पहिलो विवाह सन् १९९७ मा भएको थियो जो एक वर्ष मात्र टिक्यो । त्यसपछि उनले २००१ मा दोस्रो बिहे गरिन्, यसपटक पनि वैवाहिक सम्बन्ध दुई वर्षभन्दा अगाडि बढ्न सकेन । तेस्रो बिहे उनले सन् २००४ मा गरिन् भने यसपटक चाहिँ उनको वैवाहिक सम्बन्ध दश वर्ष चल्यो । यसबीच उनले एक छोरा र एक छोरी गरी दुई सन्तानलाई जन्म दिइन् ।

यस्तै, रोड्रिगेजको विवाह २००२ मा भएको थियो । दुई छोरीका बाबु भइसकेका उनको वैवाहिक सम्बन्ध जम्मा ६ वर्ष मात्र टिक्यो । अर्थात्, सन् २००८ मा वैवाहिक बन्धनबाट उनी मुक्त भएका थिए । तथापि, दुवै छोरी आफूसँगै राखेका उनले यसबीच केट हडसन, क्यामरुन डियाज, टोरी विल्सन र एनीजस्ता सेलेब्रिटी महिलासँग रोमान्स गरेका थिए ।