नेपालको पहिलो दूतावास

नेपालको पहिलो दूतावास


उत्तरतर्फका कमान्डिङ जनरल बहादुरशमशेरको नेतृत्वमा १९९१ सालमा ब्रिटिस नरेशलाई ओजस्वी राजन्यको तक्मा (त्यस समारोहको निमित्त सर्वप्रथम नेपालमा रचिएको) पैराउन लन्डन गएको प्रतिनिधिमण्डल, सोही साल त्यहाँ दूतावासमा परिणत भयो । त्यसको पहिलो राजदूत उ.क.ज. बहादुरशमशेर भई काठमाडौंस्थित अङ्ग्रेजी र लन्डनस्थित नेपाली दूतावासका नियोग प्रमुखहरू अब एनभ्वाएको सट्टा मिनिस्टर भनिन थाले ।

लन्डन शहरको क्यानसिङटन प्यालेस गार्डेनको नं. १२ ए मा १९९१ सालमा खुलेको त्यो दूतावास अझ पनि त्यहीँ नै छ । ब्रिटेनको राजपरिवारले चर्चेको त्यो प्यालेस गार्डेनभित्र रहेको नेपाली दूतावासको सडकलाई मिलियनर्स रो (लखपतिहरू बस्ने ठाउँ) भनिँदै छ (त्यसका अगलबगलका घरहरू चिह्नै नसकिने किसिमले आधुनिकीकरण भए तापनि त्यो दूतावासको बाहिरी स्वरूप अझ जस्ताको तस्तै छ) । त्यसबेला नेपालको कुल राजस्व रु. ३ करोड जति भए पनि दूतावास लखपति बस्ने ठाउँमा खोलियो– नेपाल निकै धनी राष्ट्र छ भनी विदेशीलाई देखाउन । राणाकालभरि नेपालको बजेट प्रकाश नगर्नुको एक कारण हो आफ्नो आर्थिक भेद विदेशीलाई सकभर नखुलोस् भनी ।

त्यो दूतावास थियो (छ) प्रख्यात हाइड पार्कको उत्तरपट्टिको छेउमा (कहिले सूर्य नअस्ताउने ब्रिटिस साम्राज्यको मुटु ब्रिटेन, ब्रिटेनको मुटु लन्डन, लन्डनको मुटु हाइड पार्क र हाइड पार्कको मुट क्यानसिङटन प्यालेस गार्डेन भन्ने बेलायतमा त्यसबखत चलन थियो । त्यसैमा बनेको थियो निकै भव्य, बेसमेन्ट, लाइब्रेरी, लिफ्ट, टेनिस कोर्ट, अफिस, बैैंक्वेट हल, बैठक, विलयर्ड रुमसहित पन्ध्र–बीस कोठा, बगैँचा भएको चारतले, कुँदेका ढुङ्गाले बनेको घर । एक सय वर्षअघि स्वेज क्यानल निर्माण गर्ने कुनै ठेकेदारले कमाएको सम्पत्तिले बनाएको त्यो घरमा खुलेको दूतावासको बहाल निकै होलो थियो । दोस्रो महायुद्धमा जर्मन बमबाट बच्न दूतावासको टेनिस कोर्टमुनि अन्डरग्राउन्ड सेल्टर पनि थपियो ।

त्यसैले त्यसबेला नेपाली दूतावासको वार्षिक बहाल पाउन्ड ५०० तिरे पुग्दथ्यो । लन्डनमा त्यस्तो भव्य घरको त्यति थोरै बहालमा उहिले पनि सिन्कीसरह मान्दथे । साथै वकिङमा आठ पाँच नियोगका कर्मचारी गएर बस्ने सानो घर र दूतावासका कर्मचारी मरे भने पोल्ने ठाउँ पनि खरिद भएको थियो । उ.क.ज. बहादुरशमशेरकी रानीको सोही ठाउँमा सर्वप्रथम दाहसंस्कार भएथ्यो । (त्यसबखत लन्डननिवासी धेरै राजदूतावासको शहरबाहिर गाउँमा साना देहाती घर राख्ने चलनअनुरूप नेपालले पनि वकिङमा घर खरिद गरेको हुन सक्दछ) । लन्डननिवासीलाई काँठमा घर हुनु एक धाकरवाफको कुरा गनिन्थ्यो ।

प्रथम नेपाली राजदूतसँग ले.क. सौभागजंग थापा सैनिक सहचारी, सु, गुञ्जमान प्रथम सचिव, सु. कृष्णमोहन द्वितीय सचिव र ख. मोहनदास निजी सचिव भएर लन्डन गएका थिए । त्यसबेला नेपालको राष्ट्रिय आयव्ययको फाँट कसैलाई पत्तो नभएझैँ लन्डनस्थित नेपाली दूतावासको खर्चको निकासा पनि राजदूतसिवाय अरू कसैलाई थाहा हुँदैनथ्यो– दूतावासको सबै खर्च राजदूतकै नाममा हस्तेवारी निकासा हुने र दूतावासलाई चाहिने घिउ, चामल, तेल, मसला, गुन्द्रुक, मसेउरा, तामा, दाल इत्यादि नेपालबाट दूतावासमा सोझै आउने हुँदा । दूतावासका कर्मचारीहरूलाई दिनको दुई छाक घिउ हालेको मसिनो चामलको भुजा, छाँटाको दाल, माछामासु, २३ थोक तरकारी, अचार मनग्य राजदूतको भान्छामा ख्वाइन्थ्यो ।

राजदूतका नानी, कोठामोचे, भान्छे बाहुन, भान्छाको काम गर्ने, डोले र बैठके सबै नेपालबाट जान्थे । हरेक कर्मचारीले नेपालबाट स्वास्नी लैजान नपाए पनि नोकर लैजाने खर्च पाउने हुँदा, कोठा, भाँडा सफाइलाई कुनै धन्धा थिएन– कोठा नसजिए पनि, दूतावासमा विदेशी ड्राइभर, वटलर, फुटमेन, क्लर्क, माली र मेडहरूको पनि दरबन्दी थियो । नेपाली कर्मचारीहरूलाई बस्न र खान नेपाल सरकारतर्फबाट दूतावासमा पूरै प्रबन्ध भए पनि कपडा किन्न, हिँड्न, डुल्न खेलबाड, थेटर सिनेमा हेर्न, चुरोट, रक्सी, चकलेट, बस, ट्युबरेलको टिकट किन्न यताउता गर्न आफ्नै पकेटबाट नियोगका अधिकृतले खर्च गर्नुपर्दथ्यो । त्यो पकेट भरीभन्दा प्रायः रिक्त हुन्थ्यो ।

दर्जा हेरी त्यो पकेट खर्च हुन्थ्यो मासिक पाउन्ड दश–पन्ध्र । लन्डनमा लडाइँको जमानामा मालको मोल अन्धाधुन्द बढेपछि काउन्सेलरको मासिक पकेट खर्च अठार पाउन्ड पुगेको थियो । दूतावासका प्रायः सबैजसो कर्मचारी राजदूत आफैँले नेपालबाट छानेर सँगै लैजान पाइने हुँदा, उनको मन परेका चाकरीदार अथवा उनका छोराहरू राजदूतसँग जान्थे । त्यसरी उनको पौरखबारे भएर गएका अधिकृतहरूलाई राजदूत आफैँले लाउन, खान र डुलाउनमा हेरविचार गरिदिने हुनाले मात्र ती अफिसरहरूलाई निरन्तर आर्थिक सङ्कटको सामना गर्न पर्दैनथ्यो र हुर्मत बच्दथ्यो ।

(त्यसबखतको नेपाल, लेखक सरदार भीमबहादुर पाँडे)