अमेरिका प्रस्थान गर्नुअघि प्रचण्डले गरे यस्तो खुलासा

अमेरिका प्रस्थान गर्नुअघि प्रचण्डले गरे यस्तो खुलासा


श्रीमती सीताको उपचारका लागि आइतबार अमेरिका प्रस्थान गरेका नेकपा अध्यक्ष पुष्पकमल दाहालले अमेरिका यात्राको लागि अमेरिकी दूतावासले सहजीकरण गरिदिएको खुलासा गरेका छन् । प्रस्थानका निम्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले परराष्ट्र मन्त्रालय, अमेरिकी दूतावास र अमेरिकास्थित नेपाली दूतावासले सहजीकरण गरेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीमा सल्लाह गरेर नै आफू त्यसतर्फ जान लागेको पनि उनले प्रष्ट्याए ।

बढीमा सातदेखि दश दिनभित्र स्वदेश फर्कने उल्लेख गर्दै प्रचण्डले मुख्यतः आफू पत्नी सीताको स्वास्थ्य उपचारका लागि गए पनि त्यहाँ रहँदा राजनीतिक भेटघाटको सम्भावना रहेको स्वीकार गरे । परराष्ट्र मन्त्रालयले अमेरिकी सरकारका अधिकारीसँग औपचारिक वा अनौपचारिक छलफल हुने सम्भावना बढेको आफूलाई जानकारी गराएको उनको भनाई थियो ।

देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिनुपर्ने तर्क पनि उनले सो क्रममा गरे । सबै राजनीतिक दल, सरकार, नागरिक समाज, बुद्धिजीवी मिलेर संविधान बनायौँ, निर्वाचन गरायौँ, अब सबै मिलेर विकास र समृद्धिलाई पनि अगाडि बढाउनुपर्छ भन्दै प्रचण्डले गएको वर्ष सरकार र पार्टीले पूर्वाधार बनाएको र अगागामी वर्ष विकास निर्माणले गति लिने दाबी गरे ।

pic: rss