उपप्रधानमन्त्री यादव भन्छन्– तत्काल सरकारबाट हट्ने सोच छैन

उपप्रधानमन्त्री यादव भन्छन्– तत्काल सरकारबाट हट्ने सोच छैन


उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सरकारबाट तत्काल बाहिरिने सम्भावना नरहेका बताएका छन् । उपप्रधानमन्त्री यादवले विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीले वर्तमान सरकार छाड्ने सम्बन्धमा कुनै सोच नबनाएकाले आफ्नो पार्टी सरकारमै बसेर काम गर्ने बताए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले राष्ट्रिय जनता पार्टी नेपाल संघीय सरकारमा नरहेकाले समर्थन फिर्ता लिनुको कुनै अर्थ नरहेको बताए ।

उनले तराईका जनताको चाहनाअनुसार नै राजपासँग मिलेर प्रदेश २ मा सरकार गठन गरेको बताउँदै शक्ति निर्माणका लागि आफ्नो पार्टीले राजपालाई पत्र लेखी पठाएकोमा जवाफ नआएकोले त्यसलाई सकारात्मक रूपमा लिएको प्रस्ट पारे ।

उपप्रधानमन्त्री यादवले राज्यले विप्लव समूहको गतिविधिमाथि रोक लगाउनु आफ्नो कर्तव्य निभाएको हो, त्यो जुनसुकै सरकारले पनि गर्ने गर्छ भन्दै राजनीतिक गतिविधिको नाममा मान्छेको हत्या, लुटपाट र आंतक सिर्जना गरी जनतामा त्रासको वातावरण फैलाउन नपाइने बताए ।

उपप्रधानमन्त्री यादवले सीके राउतसँग भएको सम्झौतामा कहीँ पनि जनमतसंग्रह उल्लेख नभएको प्रस्ट पार्दै जनमतसंग्रह र जनअभिमत फरक विषय रहेको उल्लेख गरे । उनले सीके राउतसँग भएको ११ बुँदे सम्झौतामा मुलुकको सार्वभौमसत्ता र अखण्डता स्वीकार गराउनु सकारात्मक पहल भएको बताए ।

उनले प्रदेशमा रहेका अतिविशिष्ट अस्पताल र स्वास्थ्य प्रतिष्ठानलाई मात्र संघीय सरकारले आफ्नोमातहतमा राखेको बताउँदै यसबाट प्रदेशको अधिकार नखोसिएको स्पष्ट पारे । स्वास्थ्यमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र भएको अनियमिताका सम्बन्धमा विगतको सरकारले छानबिन गरेको र अहिले सिनेटको प्रतिवेदनअनुसार नै त्यहाँका उपकुलपतिलाई बर्खास्त गरिएको जानकारी दिए ।