सरकारद्वारा विप्लवका गतिविधिमाथि उच्च निगरानी

सरकारद्वारा विप्लवका गतिविधिमाथि उच्च निगरानी


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ । गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वंशकारी घोषणा गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानुनी कारबाही थालेको हो ।

सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ ।

नेपाल प्रहरीका ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षासमेत सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकोसमेत उनले बताए ।

सरकारले त्यस्ता समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारबाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ ।

गृह मन्त्रालयले कानुनबमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ । त्यसपछि हतियार फेला परेमा प्रचलित कानुनअनुसार कारबाही हुने जनाइएको छ ।

फागुन १० गते राति ललितपुरको नख्खुस्थित एनसेल टावरनजिक एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी गराइएको बम विस्फोट तथा देशका दर्जनौँ ठाउँमा भएका विस्फोटमा समेत विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नामको समूह संलग्न भएको प्रहरीको निष्कर्ष छ ।

विगतमा चन्दाआतंकदेखि अपहरण, बम विस्फोट र व्यक्ति कारबाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीको अभिलेखमा छ । प्रहरीको अनुसन्धानले समेत उक्त समूह राजनीतिक शक्ति नभएको निष्कर्ष निकालेको थियो ।

केही दिनअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले आफूमाथि आक्रमणको सूचना प्राप्त भएको सार्वजनिक गरेका थिए । तर, प्रहरीले भने भीआईपी र भीभीआईपीको सुरक्षामा जोखिमविहीन (जिरो रिस्क)मा सुरक्षा प्रदान गरिरहेको प्रहरी प्रवक्ता सुवेदीले बताए ।

‘सरकारले प्रतिबन्ध लगाएको समूह आपराधिक समूह हुने भएकाले देशभरका प्रहरी युनिटलाई पक्राउका लागि परिपत्र गरिएको छ,’ प्रहरी प्रवक्ता सुवेदीले भने, ‘राजनीतिको आडमा आपराधिक क्रियाकलाप गर्न छुट छैन, सरकारी निर्णयले प्रहरी सुरक्षा एकोहोरो भएको छ ।’

हिजोसम्म घटना घटे पनि संलग्न मात्रै कानुनी कारबाहीमा आउँथे भने योजनाकारले उन्मुक्ति पाउँथे । अब भने संगठित अपराधअन्तर्गत पनि कारबाही अगाडि बढ्ने भएकाले योजनाकारसमेत कानुनी दायरामा ल्याउन सकिनेछ । अब एकातर्फ बम पड्काउने र अर्काेतर्फ राजनीतिक मुद्दा उठाउने काम नहुने भएकाले पनि कारबाहीका लागि द्विविधा हुँदैन । कुनै ठाउँमा सांस्कृतिक कार्यक्रम, भेला, प्रशिक्षण देखिए पनि सार्वजनिक सुरक्षाअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

हालै गृह मन्त्रालयले आयोजना गरेको विभिन्न प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा विप्लव समूहका गतिविधिका विषयमा गम्भीर छलफल भएको थियो । छलफलमा उसका गतिविधि राजनीतिक नभई आपराधिक भएको निष्कर्ष निकालिएको गृह मन्त्रालय स्रोतको भनाइ छ ।

सरकारी निर्णयपछि उक्त समूहका पोलिटब्युरो सदस्य मोहन कार्कीसहित ११ जना पक्राउ परिसकेका छन् । सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठ सबै जिल्लामा उच्च सुरक्षा सतर्कता बढाएको र उक्त समूहका गतिविधि देखिएमा तत्काल पक्राउ गरी कानुन कार्यान्वयन गर्ने निकायमा बुझाउने बताए ।

–नारायण ढुंगाना (रासस)