अन्तर्राष्ट्रिय धावक सन्तोष सम्मानित

अन्तर्राष्ट्रिय धावक सन्तोष सम्मानित


अन्तर्राष्ट्रिय म्याराथन धावक सन्तोष राई ‘सेलेब्रिटी सम्मान’बाट सम्मानित भएका छन् । सेलेब्रिटी समाज, नेपालले राईलाई सम्मान गरेको हो । राईलाई प्रमुख अतिथि एथलेटिक्सका पूर्वखेलाडी ओलम्पियन मुकुन्दहरि श्रेष्ठले ‘सेलेब्रिटी सम्मान’पत्रले सम्मानित गरे ।

नेपालको चर्चित दौड नेवाः च्यारिटी, धरानका संस्थापक राईले स्वास्थ्य नै जीवन हो र मानिस स्वस्थ रहनका लागि दौडनुपर्छ भन्ने सन्देशका साथ म्याराथनमार्फत नेपाल र नेपालीको नाम अन्तर्राष्ट्रियस्तरमा उच्च राख्न सफल भई खेलकुदको सेलेब्रिटी हुन सफल भएकोमा उनलाई सेलेब्रिटी समाज, नेपालले सेलेब्रिटी सम्मान प्रदान गरेको हो ।

यसै वर्ष मात्र स्थापना भएको सेलेब्रिटी समाजले भाषा, संस्कृति, कला, साहित्य, संगीत, चलचित्र, खेलकुद, विकास निर्माण, समाजसेवालगायत क्षेत्रमा विशेष प्रतिभा भएर समाजमा उदहरणीय एवं सिर्जनशील काम गर्ने व्यक्तिहरूको खोजी गरेर सम्मान गर्ने काम गर्दै आएको संस्थाले राईलाई सम्मान गरेको हो ।

छोटो समयमा नै विश्वको सम्मानित ६ म्याराथन लन्डन म्याराथन २०१७ र स्कटल्यान्ड म्याराथन, २०१७, बेलायत, बर्लिन म्याराथन २०१७, जर्मनी, बोस्टर्न म्याराथन २०१८, सिकागो म्याराथन २०१८ र न्यूयोर्क म्याराथन २०१८, अमेरिका पूरा गरेका राईले २०१९ मा जापानमा भएको टोकियो म्याराथनमा ३८ हजार सहभागीमध्येबाट उत्कृष्ट ७ सयमा पर्न सफल भई ABBOTT MEJOR MARATHON मेडलसमेत प्राप्त गर्न सफल भएका थिए ।

सम्मानपश्चात् आफ्नो अनुभव सुनाउने क्रममा कर्मथलो बेलायत बनाएका सम्मानित राईले आफ्नी छोरी बिरामी भएपश्चात् दौड नै स्वस्थ हुने सबैभन्दा राम्रो माध्यम रहकोले आफूले दौडलाई जीवन बनाएको बताए । कार्यक्रममा खेलकर्मी दीपक विष्ट, दीपक श्रेष्ठ, सिनेकर्मीहरू सुनील थापा, राजुकमार राईलगायतको उपस्थिति रहेको थियो ।