नीलकण्ठ माविलाई डन्डिबियो उपाधि

नीलकण्ठ माविलाई डन्डिबियो उपाधि


नीलकण्ठ माविले तेस्रो माध्यमिक विद्यालयस्तरीय डन्डिबियो प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् हातामा भएको फाइनलमा नीलकण्ठले अमरावती माविलाई २३७–१८९ ले पराजित गऱ्यो । विजेता र उपविजेता दुवै धादिङका विद्यालय हुन् । उपाधिसँगै नीलकण्ठले २० हजार तथा अमरावतीले १५ हजार नगद पुरस्कार पाए ।

नेपाल डन्डिबियो संघको समन्वयमा भएको प्रतियोगितामा नाजरथ, ललितपुरले तेस्रो स्थानमा चित्त बुझायो । नाजरथले रोम्बस, भक्तपुरलाई १६३–१२३ ले हरायो । नाजरथले १० हजार नगद पुरस्कार पायो ।

विजेतालाई महालेखा परीक्षकको कार्यालयका उपसचिव पदमबहादुर बस्नेत, राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका प्रमुख कपिलमणि पोखरेल र डन्डिबियो संघका अध्यक्ष मोतीराम फुँयालले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगितामा उपत्यका, काभ्रे र धादिङका २० टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेको राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मीनकुमार शर्माले जनाएका छन् ।