पाँचथरमा जंगलबाट पसेको आगलागीबाट ६ घर जले

पाँचथरमा जंगलबाट पसेको आगलागीबाट ६ घर जले


पाँचथरको हिलिहाङ गाउँपालिका–३ साबिकको पञ्चमी गाविस– ३ डाँडेको रमिते भन्ने भिरमा लागेको आगो गाउँ पस्दा गए राति ६ घर जलेका छन् ।

बस्तीमा पसेको आगो नियन्त्रणमा आएको छ भने जंगलको आगो अझै नियन्त्रणबाहिर रहेको जानकारी प्राप्त भएको छ । मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा, धनप्रसाद पालुङवाको घर जलेका हुन् ।

आगलागी भएका घरमध्ये मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा र वेदमाया पौड्यालको घर पूर्णरू पमा जलेको छ । उनीहरूको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । आगलागीका कारण के–कति क्षति भयो भन्ने तत्काल यकिन हुन नसकेको गाउँपालिका–३ का वडा सदस्य धनबहादुर पालुङवाले बताए ।

जंगलको आगो नियन्त्रणका लागि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरी रहे पनि नियन्त्रणमा आउन सकेको छैन । अहिले आगो पूर्वी क्षेत्र वनपाला जंगलतर्फ मोडिएको पालुङ्वाले बताए ।