एसईईको प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड

एसईईको प्रश्नपत्रसँगै छात्रालाई सेनेटरी प्याड


म्याग्दीमा एसईई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ ।

यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ (एसईई)मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो ।

सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महिनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्यांकलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसईई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो ।

मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई रु. १५ हजारबराबरको प्याड खरिद गर्न चेक हस्तान्तरण गरेकी छिन् ।

मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महिनावारीलाई सहज रूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताइन् । ‘छात्रा महिनावारी भएको समयमा विद्यालयमा सहभागी नहुने गरेको पाउने गरेका छौँ, महिनावारीको समयमा कुनै पनि छात्राको एसईई परीक्षा प्रभावित नहोस् भन्नका लागि सेनेटरी प्याड वितरण गर्ने व्यवस्था मिलाएका हौँ,’ अर्यालले भनिन् ।

एसईई परीक्षा चैत १० गतेदेखि शुरु हुँदै छ । म्याग्दीमा दुई हजार २४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार १११ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा संख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरिदका लागि शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीलाई रु. १५ हजारबराबरको चेक हस्तान्तरण गरेको छ ।