उद्यमीलाई अनुदानमा प्रविधि हस्तान्तरण

घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यालय दमौलीले जिल्लाका उद्यमीलाई अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ । चालू आर्थिक वर्षमा ६१ उद्यमीलाई प्रविधि हस्तान्तरण गर्ने वार्षिक कार्यक्रमबमोजिम समितिले पहिलो पटक चार उद्यमीलाई प्रविधि हस्तान्तरण गरेको हो ।

अनुदानमा प्रविधि पाउनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारस्थित अधिकारी टायरपञ्चरका सञ्चालक रमेश अधिकारी, व्यास नगरपालिका– कलेस्तिस्थित बानियाँ इको फार्मका सञ्चालक पप्पु बानियाँ क्षेत्री, व्यास नगरपालिका–२ दमौलीस्थित मनोज कुटानी पिसानी मिलका सञ्चालक शर्मिला श्रेष्ठ र व्यास नगरपालिका–२ दमौलीस्थित क्यासमिरी अफसेट प्रेसका सञ्चालक मुना कालिराज विके रहेका छन् ।

अधिकारी टायरपञ्चरलाई एक थान कम्प्रेशर ट्याङ्की सेट र एक थान एयर कम्प्रेशर गन वितरण गरिएको छ । समितिले यसका लागि रु ९५ हजार अनुदान दिएको छ भने उद्यमीले रु ३२ हजार योगदान गरेको समितिका निर्देशक विमला धितालले जानकारी दिए ।

बानियाँ इको फार्मलाई पावर ट्रिलर प्रदान गरिएको छ । पावर ट्रिलरका लागि समितिले रु ९५ हजार अनुदान दिएको छ भने उद्यमीले रु ६५ हजार योगदान गरेका छन् । समितिले रु ४९ हजार ६०० अनुदानमा मनोज कुटानी पिसानी मिललाई एक थान कम्बाइन मिल सेट प्रदान गरेको छ । यसमा उद्यमीले रु १२ हजार ४०० योगदान गरेका छन् ।

क्यासमिरी अफसेट प्रेसलाई प्रदान गरिएको फोटोकपी मेशिनका लागि समितिले रु ९५ हजार अनुदान दिएको छ भने उद्यमीले रु २४ हजार योगदान गरेका छन् ।

समितिका निर्देशक धितालका अनुसार जिल्लाका ६१ उद्यमीलाई प्रविधि हस्तान्तरणका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । बाँकी ५७ उद्यमीलाई समेत छिट्टै प्रविधि हस्तान्तरण गरिने उहाँले जानकारी दिए । सरकारको ८० प्रतिशत र साना उद्यमीको २० प्रतिशतको साझेदारीमा उक्त प्रविधि हस्तान्तरण गर्न साना उद्यमी छनोट समिति गठन गरिएको थियो ।

उद्यमी व्यवसायीको जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएपछि प्राप्त आवेदनमध्ये प्रविधि हस्तान्तरण कार्यविधि पूरा गरेका साना उद्यमीलाई मात्रै प्रविधि हस्तान्तरण गरिएको उनले जानकारी दिए । उनका अनुसार उद्यमीलाई हाते ट्र्याक्टर, मसला पिस्ने मेशिन, जुकी सिलाइ मेशिन, ब्युटिपार्लरका सामग्री, मौरी घार लगायतका प्रविधि हस्तान्तरण गरिनेछ । प्रविधि पाएका उद्यमीले कम्तीमा पाँच वर्ष पाएको प्रविधि बेचबिखन गर्न तथा कसैलाई भाडामा लगाउन नपाइने सम्झौतासमेत गरिएको छ ।

प्रतिक्रिया