दुर्गाफाँटमा एकीकृत घुम्ती सेवा शिविर

दुर्गाफाँटमा एकीकृत घुम्ती सेवा शिविर


  • मुक्तिनाथ भुसाल, अर्घाखाँची

अर्घाखाँचीको पूर्वी भेगस्थित दुर्गाफाँटमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालयको आयोजना तथा पाणिनी गाउँपालिका र मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रमको सहयोग एवम् समन्वयमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा उद्योग फर्म दर्ता तथा नवीकरण, नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली संकलन, ज्येष्ठ नागरिक परिचय पत्र वितरण, सार्वजनिक सुनुवाई, निःशुल्क स्वास्थ्य शिविर, पशुसेवासम्बन्धी कार्यक्रम, समुदाय प्रहरी साझेदारी कार्यक्रम, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण सचेतना कार्यक्रम, माटो किरा तथा रोग परीक्षण लगायतका सेवा प्रदान गरिएको थियो ।

शिविरवाट धेरैजना लाभान्वित बनेका र असहाय तथा वृद्धवृद्धाहरूका लागि निःशुल्क सवारी साधनको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमको भनाई छ । शिविर सम्पन्न गर्न सहयोग पुऱ्याउने सम्पूर्ण सरोकारवालालाई अध्यक्ष गौतमले एक कार्यक्रमबीच धन्यवाद समेत दिए ।

साविकका अडगुरी, धातिवाङ, मैदान, पटौटी, पणेना, पोखराथोक, खिदीम तथा पालीको वार्ड नम्बर १ देखि ८ र चिदीका गाविसको वार्ड नम्बर ९ लाई समेटी गठन भएको पाणिनी गाउँपालिकामा सञ्चालित घुम्ती शिविरमा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले बताइन् । एकै समयमा प्रभावकारी सेवाहरू प्राप्त भएको हुँदा शिविर अत्यन्त फलदायी बन्न पुगेको स्थानीय समाजसेवी जीवनारायण कोइरालाको भनाई छ ।

जम्मा १५१ दशमलव ४२ वर्ग किलोमिटर क्षेत्रफल रहेको यो गाउँपालिका धार्मिक तथा पर्यटकीय हिसाबमा महत्वपूर्ण रहेको छ । पाणिनी तपोभूमि, दुर्वाशेश्वर गुफा, नर्तनाचल पर्वत, सिद्धेश्वर गुफा, त्रिवेणी संगम आदि यो गाउँपालिकाका महत्वपूर्ण धार्मिक स्थल हुन् । वन, वन्यजन्तु तथा जैविक विविधताको दृष्टिकोणले समेत महत्वपूर्ण रहेको पाणिनी गाउँपालिकामा जलचर र थलचर जिवहरूले समेत आश्रय लिएको बुझिन्छ । यस गाउँपालिकाको पूर्वमा पाल्पा जिल्ला, पश्चिममा सन्धिखर्क शितगंगा नगरपालिका, उत्तरमा छत्रदेव गाउँपालिका तथा गुल्मी जिल्ला र दक्षिणमा पाल्पा अनि रुपन्देही जिल्ला सीमाना पर्दछन् ।